• २० साउन २०८१, आइतबार

कालोपत्रे भएको सडक तीन महिनामा भत्कियो

blog

भत्किएको सडक । तस्विरः गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २० गते । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको छ । जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–गुण्टेखेत–घायेखेत–धारापानी ठोटनेरी जोड्ने सडक योजना अन्तर्गत सल्यानको पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्रे सडक भत्किएको हो । 

निर्माण व्यवसायीले सडक निर्माण गर्दा कमजोर संरचना बनाएकाले सडक कालोपत्रे भएको तीन महिना नहुँदै भत्किएको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । निर्माण व्यवसायी र सम्बन्धित निकायको लापरबाहीका कारण सडक बनेको छोटो समयमै भत्किएको उहाँको भनाइ छ । 

कमजोर संरचना निर्माण गरेकाले बतासेमा, पहिराको टाकुरालगायतका स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्रे सडक भत्किएको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘‘जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटो माथि ग्यावियन झाली भरेर त्यसमाथि कालोपत्रे गरेकाले सडक भत्किएको हो । जनप्रतिनिधि र स्थानीयवासीहरुले पटक–पटक दिएको सुझाव समेतलाई बेवास्ता गर्दा अहिले सडकको अवस्था बिग्रियो ।’’

पूर्व मन्त्री तथा पर्वतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने पदम गिरी,जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य,राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीहरुले भत्किएको सडकको अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा पूर्व मन्त्री तथा सांसद गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडक निर्माण गर्दा भौगोलिक अवस्थाको अध्ययन गरेको पाइएन । निर्माण पक्ष र सरकारी निकायको गम्भीर लापरबाहीका कारण सरकारी बजेटको दुरुपयोग भएको देखियो ।’’ सडक निर्माण गर्दा भएको कमीकमजोरीलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । 

मिलन चोकदेखि ठोटनेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपियाँमा हिमदुङ एन्ड थोकर प्रा.लिले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण यो योजना अलपत्र परेको थियो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्षमा  पहिलो चरणमा मिलन चोकदेखि सल्यान सम्म करिब ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।