• ११ मंसिर २०८१, मङ्गलबार

कृषि पढ्न आएनन् विद्यार्थी

blog

टीकापुर समाचारदाता

टीकापुर, साउन २० गते । प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ । 

टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “छ/सात जनाले भर्ना प्रक्रियाबारे सोधेका थिए तर फाराम भर्न आएनन् । अब गे्रडवृद्धिको परीक्षाबाट उत्तीर्ण विद्यार्थीका लागि पर्खेका छौँ ।”

कृषिको उर्वरभूमि कैलालीमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या घटेको छ । सिटिइभिटीले रानीजमरा कुलरिया, सिक्टा, बबई, महाकाली सिँचाइ परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ विषय सञ्चालनमा ल्याएको छ । आकर्षक विषय र रोजगारी सुनिश्चित जस्तै भए पनि त्यहाँ पनि दुई जनाको मात्रै आवेदन परेको छ ।

एसइईमा न्यून विद्यार्थी पास हुनु, पास हुने विद्यार्थीमध्ये धेरै जसो कक्षा १२ पासपछि विदेश जाने लक्ष्य राख्न थालेकाले प्राविधिक विषय पढ्नेको सङ्ख्या घटेको टीकापुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षक विकास रानाको भनाइ छ ।

अन्य विषयमा पनि विद्यार्थी कम

टीकापुर बहुप्राविधिक शिक्षालयमा पढाइ हुने अन्य प्राविधिक विषय पढ्ने चाहना राखी प्रवेश परीक्षाको आवेदन दिनेको सङ्ख्या पनि कम छ । फाराम भर्ने निर्धारित समयसम्म ४०/४० जनाको कोटा रहेको पशु विज्ञानमा २१ जना, वनविज्ञानमा ११ जना, ४८ जना पढाउने कोटा भएको सिभिल इन्जिनियरिङमा १७ जनाको मात्रै आवेदन परेको छ । साउन १९ गते प्रवेश परीक्षा हुँदै छ ।

शिक्षालयका प्रमुख इन्जिनियर पारस खड्काका अनुसार देशभरको अवस्था हेर्दा कोटाको २५ प्रतिशत मात्रै विद्यार्थीले प्रवेश परीक्षाका लागि फाराम भरेका छन् । विद्यार्थीको आकर्षण नर्सिङ र स्वास्थ्यतिर बढेको देखिएको छ, खड्काले भन्नुभयो, “छात्रवृत्ति कोटाका लागि सुदूरपश्चिम प्रदेशबाट एक हजार एक सय जतिले परीक्षा दिएको र केही गे्रडवृद्धिको नतिजा आएपछि थपिएलान् तर विगत वर्षको जस्तो प्रतिस्पर्धा छैन् ।”

४० जना सिभिल इन्जिनियर पढाउँदै आएको सरस्वती मावि प्रतापपुर लम्कीचुहामा यस वर्ष १९ जनाले मात्रै आवेदन दिएको प्रधानाध्यापक ठण्डराज जोशीले बताउनुभयो । ४० जना हेल्थ असिस्टेन्ट पढाउने कोटा पाएको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा २६ जनाले मात्रै फाराम भरेको प्रमुख अर्जुन भाटले बताउनुभयो ।