• १० मंसिर २०८१, सोमबार

लैनो भैँसीले छुटाएको कालापहाडको यात्रा

blog

जुम्लाको गुठीचौर गाउँपालिकाका भैँसीपालक किसान ।

ललित बसेल

जुम्ला, साउन २० गते । जुम्ला गुठीचौर गाउँपालिका–४, बिगारे गाउँका ५५ वर्षीय लक्ष्मीकान्त देवकोटा सात/आठ वर्षअगाडि घरखर्च जुटाउन भारतको कालापहाड जाने गर्नुहुन्थ्यो । मौसमी रोजगारीका लागि दुई/चार महिना भारत जाने, खेती किसानीको काम गर्ने बेला घर आउने क्रम चलिरहन्थ्यो । लुगाफाटो र घरखर्चको जोहो गर्न कालापहाडमा सहज भने थिएन, निकै दुःख हुने गरेको अनुभव उहाँसँग छ । 

अचेल भने उहाँको जीवनचर्या नै फेरिएको छ । गुठीचौरमा अहिले उहाँले किसानको परिचय बनाउनुभएको छ । भैँसी पालेर दैनिक २० लिटर दुध डेरीमा पु¥याउनुहुन्छ । भैँसी र पाडा गरी अहिले छ वटा छन् । परिवारसँग बसेर गाईपालन गर्दा मासिक ५० हजार रुपियाँ आउन थालेपछि उहाँको कालापहाड जाने बाटो बन्द भएको छ । उहाँले भन्नुभयो, “कालापहाडको कमाइभन्दा पनि दुःखका कुरा धेरै छन् । त्यतिबेला जति दुःख भए पनि नगई सुख थिएन तर अहिले ती दुःख सम्झँदा साह्रै पीडा हुन्छ । अहिले त घरमै भैँसी पालेर त्योभन्दा बढी पैसा कमाउन सकिएको छ, मनमा सन्तुष्टि छ ।”

यसै गरी सोही ठाउँका ५० वर्षीय गङ्गाप्रसाद कुमाईसँग पनि अहिले तीन वटा भैँसी छन् । केही वर्षपहिले उहाँ पनि कमाउन जाने ठाउँ भारतको कालापहाड थियो । अहिले घरमा भैँसी पालेपछि उहाँले पनि कालापहाडको बाटो त्याग्नुभएको छ । 

उहाँले भन्नुभयो, “दैनिक १५ लिटर दुध बेचेर घरमै बसी आम्दानी गर्न पाएपछि किन कालापहाड जानु ? मैले मासिक ४० हजारसम्म दुधबाट बचत गर्ने गरेको छु ।” 

यस्तै मायादेवी देवकोटासँग पनि अहिले दुई वटा भैँसी छन् । दैनिक १० लिटर दुध बिक्री गर्नुहुन्छ । मासिक कम्तीमा २० हजारसम्म आम्दानी गर्ने उहाँको भनाइ छ । जुम्ला जस्तो हिमाली जिल्लामा भैँसीपालन गर्न ठुलो चुनौती छ । अत्यधिक जाडो हुने भएकाले भैँसीलाई जाडोबाट बचाउन निकै दुःख गर्नुपर्ने किसान बताउँछन् । मङ्सिरदेखि माघ महिनासम्म हिउँ पर्ने र बढी जाडो हुने भएकाले भैँसीलाई न्यानो बनाउन धेरै दुःख गर्नुपर्ने किसानको भनाइ छ । 

यो गाउँमा अहिले दुहुना भैँसी नपालेको कुनै घर छैन । भैँसीपालक किसान एकत्रित भएर बिगारे दुग्ध भैँसीपालन समूह पनि गठन भएको छ । समूहमा ४० जना किसान छन् । प्रत्येक किसानले दुध डेरीमा पु¥याउने गर्छन् । समूहमा आबद्ध भएकामध्ये धेरै जसो पहिले पैसा कमाउन कालापहाड जाने गर्दथे । समूहका अध्यक्षसमेत रहेका लक्ष्मीकान्त देवकोटाले हाल भैँसीपालन गर्न थालेका किसानमध्ये आधाभन्दा धेरै त पहिले कालापहाड जाने गरेको बताउनुभयो तर अहिले सबैले घर घरमा भैँसीपालन गरेर कालापहाड जान छाडेको बताउनुभयो । उहाँका अनुसार सो समूहमा दैनिक २५० लिटर दुध सङ्कलन भई डेरीमा जाने गरेको छ । डेरीले किसानलाई लिटरको १४० रुपियाँ दिने गरेको छ । 

गुठीचौर गाउँपालिका–४ को बिगारे गाउँ, खल्लावाडा–५ को देपाल गाउँ, कुम्रीलगायतका गाउँमा अहिले घर घरमा भैँसीपालन गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा भैँसीपालक किसानलाई सहयोग गरेपछि घर घरमा भैँसीपालन गर्न थालिएको हो । जुम्ला सदरमुकाम खलङ्गामा जाने दुध यही गाउँबाट जाने कृषि क्षेत्र विकास कार्यक्रमका कृषि प्राविधिक विष्णुप्रसाद शाहीले बताउनुभयो । कार्यक्रमबाट प्राविधिक सहयोगका साथै औषधी, भिटामिनलगायत उपलब्ध गराउने गरिएको छ । शाहीले मङ्सिरदेखि माघसम्म भैँसीपालन गर्न कठिन भए पनि गोठलाई न्यानो बनाएर किसानले दुध उत्पादन गरी जुम्ला सदरमुकाम खलङ्गामा पु¥याउने गरेको बताउनुभयो । उहाँका अनुसार खलङ्गामा खपत हुने ७० प्रतिशत दुध गुठीचौरका विभिन्न वडाका किसानबाट आउने गरेको छ । 

कृषि क्षेत्र विकास कार्यक्रमले कर्णाली प्रदेशमा दुग्ध मूल्य शृङ्खलामा २२७ समूहमा छ हजार ६१९ घरधुरीसँग काम गरेको छ ।  कृषि क्षेत्र विकास कार्यक्रमका सञ्चार अधिकृत रत्नबहादुर बुढाले भैँसीपालक किसानसँग बराबर लगानीको सम्झौता गरी काम गरिएको बताउनुभयो । उहाँले कार्यक्रमले २२ करोड ५१ लाख २९ हजार र कृषकले पनि सोही बराबरको सहलगानी दुग्ध मूल्य शृङ्खलामा गरेको जानकारी दिनुभयो । 

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका लैङ्गिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्य किसानले घर घरमा भैँसीपालन गरेपछि किसानका आयआर्जन साथै पोषणमा समेत उल्लेखनीय सुधार आएको बताउनुहुन्छ । कृषि क्षेत्र विकास कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लामा तरकारी, दुध, रैथाने बालीलगायतमा सहलगानीमा सहयोग गर्दै आइरहेको छ ।