• १० मंसिर २०८१, सोमबार

बन्द स्वास्थ्य इकाई सञ्चालनमा

blog

गुणबहादुर रोका
सुलीकोट, साउन १९ गते ।
 हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका – ३ जगतमा दुई महिनादेखि बन्द स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । २०७९ सालमा स्टारलाइट नामक सामाजिक संस्थाले जगतमा स्वास्थ्य इकाई सञ्चालन ल्याएर चुमनुब्री र धार्चेको केही वडालाई सेवा दिँदै आएको थियो । चुमनुब्री गाउँपालिकाले साउन १८ गते शुक्रबारबाट पालिकाले पुनः स्वास्थ्य सञ्चालनमा ल्याएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुमनुब्री गाउँपालिकाको – ३ जगत, भालुवाङ, सल्लेरी र धार्चे गाउँपालिकाको यारुबगरसम्मका सयौँ बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको थियो । स्वास्थ्य इकाई बन्द हुँदा सयौँ नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने भएकाले पुनः सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

जगतबाट स्वास्थ्य संस्था बन्द गरेपछि त्यहाँका स्थानीय नागरिकहरू सामान्य सिटामोल किन्न पनि तीन घण्टाको बाटो धाएर फिलिम पुग्ने पर्ने बाध्यता अन्त्य भएको धार्चे गाउँपालिकाले जनाएको छ ।

अहिले चुमनुब्री गाउँपालिकाको मातहतमा रहने गरी गाउँकार्यपालिकाको निर्णयपछि धेरै राहत महसुस भएको ३ नम्बर वडाका वडा अध्यक्ष रामकुमार गुरुङले बताउनुभयो । उत्तरी गोरखाको जगत सबैभन्दा धेरै पर्यटक आवतजावत गर्ने मुख्य बाटो भएकाले पनि त्यहाँबाट आवश्यक सबै औषाधीहरु पर्यटकले लिएर जाने गरेको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी लक्ष्मण काकीको भनाइ छ ।

भौगोलिक विकटताले गर्दा पनि चुमनुब्री गाउँपालिकाका अधिकांश एउटा वडामा पुग्न पनि २ देखि ३ घण्टासम्म लाग्ने भएकाले पनि स्वास्थ्य इकाई अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

जगतमा पुनः स्वास्थ्य इकाई सञ्चालनमा आएपछि त्यहाँ रहेका सयौँ स्थानीय नागरिक खुसी भएका वडा अध्यक्ष गुरुङको भनाइ छ ।