• १९ साउन २०८१, शनिबार

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे

blog

गलकोट (बागलुङ), साउन १९ गते । जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । “गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भन्नुभयो, “अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेङ्गी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।”

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराख्नुभएको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिनुभयो ।

“असारमा खोज र नष्ट गरअभियान सञ्चालन गरेका थियौँ । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गी र १७ जनामा स्क्रब टाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौँ”, पौडेलले भन्नुभयो, “दुई वर्ष अघिसम्म डेङ्गी र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।”  

डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सतर्कता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौँ’अभियान गलकोटमा तीव्ररुपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उहाँले उल्लेख गर्नुभयो । गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिनुभयो । 

अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ । “दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेङ्गी र स्क्रब टाइफस पुष्टि हुने गरेको छ”, डा.पौडेलले भन्नुभयो, “गलकोटमा उच्च सतर्कता अपनाउन आवश्यक छ । अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेङ्गी सङ्क्रमण भने नदेखिएको उहाँले जानकारी दिनुभयो ।

लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा सरसफाइ गर्ने, सुत्दा नियमित झुलको प्रयोग गर्ने, घर बाहिर, खेतबारीमा काम गर्दा पूरै शरीर छोपिने किसिमका लुगा लगाउनेलगायत कुरामा विशेष ध्यान अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

“डेङ्गी लामखुट्टेका माध्यमबाट मानिसमा सर्छ । स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स-साना बोटबिरुवाको झाडीमा बस्छ”, नगर अस्पतालका प्रमुख डा.पौडेलले भन्नुभयो, “केही वर्षअगाडिसम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा देखिँदै आएकामा पछिल्लो समय सहरी क्षेत्रमा पनि देखिँदै आएको छ ।”

यसको समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अन्य अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुने डा.पौडेलले बताउनुभयो । यो रोगबाट बच्ने प्रभावकारी माध्यम भनेको सरसफाइमा विशेष ध्यान दिने र सावधानी अपनाउने रहेको उहाँले उल्लेख गर्नुभयो । रासस