• १९ साउन २०८१, शनिबार

बाँकेमा चिनी र खाने तेलको तस्करी बढ्यो

blog

बरामद गरिएको अवैध सामान। तस्बिर : सिराज खन

सिराज खान
नेपालगन्ज, साउन १९ गते ।
 यहाँस्थित नेपाल–भारत नाकामा पछिल्लो समयमा चिनी, खाने तेल र तयारी कपडा लगायत सामग्रीको तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट ठुलो मात्राको अवैध चिनी, खाने तेल र एक गाडी नियन्त्रणमा लिएको छ ।

सीमा नाका जमुनाहाबाट नेपालगन्जसम्म आउँदा तीन चार वटा चेक पोष्ट रहेको र साइड नाकाहरूमा पनि ठाउँ–ठाउँमा प्रहरी पोष्ट रहेको भए पनि निर्बाध रूपमा गाडीमै भरेर भन्सार छली गरी भारतबाट अवैध रूपमा सामान सजिलै नेपालगन्ज बजारसम्म पुग्ने गरेको पाइएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलीको १६ क्विन्टल चिनी, ८४ पेटी खाने तेल र एक बोलेरो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ९६ हजार मूल्य बराबरको १६ क्विन्टल चिनी, एक लाख १७ हजार मूल्य बराबरको ८४ पेटी खाने तेल र सात लाख मूल्य बराबरको लु १ च ६८७० नम्बरको एक बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

प्रहरीले बरामद गरेको नौ लाख १३ हजार बराबरको सो सामान तथा गाडी चालक भीमबहादुर डिसीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।