• १९ साउन २०८१, शनिबार

पशुपतिनगरमा महिला प्रहरी आवास गृह

blog

महिला प्रहरी आवास गृहको उद्घाटन गर्नुहुँदै कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ । तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), साउन १९ गते ।
 इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरिएको आवास गृहको उद्घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारको ३८ लाख ११ हजार पाँच सय ९० रुपियाँको लागतमा एक तले महिला प्रहरी आवास गृहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गर्नुभएको हो ।

प्रदेश सरकारको लगानी तथा कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाको समन्वयमा ६५ बर्गमिटर क्षेत्रफल भएको आवास गृह, भान्सा घर र शौचालय निर्माण गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।

भवन उद्घाटन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक खापुङले सेवा विस्तारसँगै जनमुखी भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले समयानुकूल आफू परिमार्जित भएर नागरिकलाई जनअपेक्षा अनुरूप काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भौतिक पूर्वाधारमा अझै धेरै ठाउँमा समस्या छन् यस क्रमशः सुधार गर्दै लैजानु पर्दछ ।’’

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाल–भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयलाई थप व्यवस्थित बनाउनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले प्रहरीले नागरिकका समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भारतको पश्चिम बङ्गाल प्रहरी प्रमुख विवेक क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु ढकालले इलाम जिल्लाभर ७१ जना महिला प्रहरी कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले महिला भवन निर्माणले महिला प्रहरीका लागि आवासमा सहज भएको जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय सामरिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताउनुभयो ।