• १९ साउन २०८१, शनिबार

निकुञ्जका वन्यजन्तुद्वारा किसानको खेतीमा क्षति

blog

कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जको कार्यालय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १९ गते । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुले गत आर्थिक वर्षमा जिल्लाका ४५७ किसानको खेती र पशु धनमा क्षति गरेको निकुञ्जले जनाएको छ । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा निकुञ्ज र सो वरिपरिका वन्यजन्तुबाट पशुधन क्षतिका १८१ घटना र अन्नबाली क्षतिका २७२ घटना भएका थिए । चितुवाको आक्रमणबाट चार जना घाइते भएका थिए । 

उहाँले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३६४ जना किसान वन्यजन्तुबाट पीडित बनेको जनाउँदै गत आर्थिक वर्षमा निकुञ्जमा जनावर समेत वृद्धि भएकाले पीडित हुनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउनुभयो । 

यसैबिच वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका ४५७ किसानलाई क्षतिपूर्ति वितरण गरिएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा एक वर्षको अवधिमा अन्नबाली र पशुधन क्षति भएका जिल्लाका ४५७ किसानलाई ३० लाख १८ हजार ४१० रुपियाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । 

उहाँका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई एक लाख २३ हजार ८१० रुपियाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ ।

निकुञ्जका अनुसार पशुधन क्षतिका १८१ घटनामा १८ लाख २५ हजार ३०० र अन्नबाली क्षतिका २७२ घटनामा १० लाख ६९ हजार ३०० रुपियाँ क्षतिपूर्ति वितरण गरिएको छ । 

बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०–८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न घट्नामा सात थान मुद्दा दर्ता गरेको जनाएको छ । सात मुद्दामध्ये ६ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर विनीता केसीले जानकारी दिनुभयो ।