• ११ मंसिर २०८१, मङ्गलबार

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन १९ गते । रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । छ वटा स्थानीय तह रहेको यस जिल्लामा दुई स्थानीय तहले भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । 

चौरजहारी, आठबिसकोट नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका छन् तर मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

त्यसै गरी जिल्लामा सबैभन्दा बढी चौरजहारी नगरपालिकाले राजस्व उठाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार नगरपालिकाले तीन करोड नौ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । चौरजहारीले दुई करोड ६६ लाख राजस्व सङ्कलनको लक्ष्य तोकेको थियो । उहाँले नगर बस, एम्बुलेन्स, एक्साभेटर, मालपोत करलगायतको करले गर्दा लक्ष्य पूरा गर्न सकिएको बताउनुभयो । एक करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले एक करोड एक लाख ५६ हजार २४८ रुपियाँ सङ्कलन गर्न सफल भएको छ ।