• ११ मंसिर २०८१, मङ्गलबार

तानसेनमा मनाइयो घण्टाकर्ण

blog

तानसेन, साउन १९ गते । तानसेन बजारका विभिन्न स्थानमा नर्कटको तीनखुट्टे लिङ्गाकृति (गठाँमो) राखेर घण्टाकर्ण गठेमङ्गल पर्व मनाइएको छ । बजारका चोक चोकमा गठाँमो ठड्याइएको छ । 

तानसेनको बसपार्क, नारायणस्थान, शीतलपाटी, टक्सारटोललगायत स्थानमा घण्टाकर्णको लिङ्गाकृति नर्कट राखिएको छ । इतिहासकार तथा संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार नर्कटलाई दिनभर चोक, चौबाटो राखिन्छ । घाम अस्ताएपछि टोलवासी मिलेर छ्वालीको चिराग लगाएर नजिकैको नदीमा बिसर्जन गर्ने परम्परा रहेको छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित कीटाणु, उपियाँ, उडुस भगाउन धूप बालेर धुवाँ पठाउने परम्परा रहेको हो ।

तानसेनका चोक तथा चौबाटामा राखेका नर्कटसँगै बालबालिकाले पैसा उठाएका थिए । यसरी ठड्याइएको नर्कटमा दुवै कानमा घन्टा झुन्ड्याइएको भयानक मुखाकृत घण्टाकर्णको मखुन्डो साथै तलतिर एकापट्टि लिङ्ग र अर्कोतर्फ योनीको चित्र राखिन्छ । 

तानसेन बजारमा श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण चतुर्दशी मनाएसँगै चाडपर्वको मौसम सुरु हुने स्थानीय बासिन्दा बताउँछन् । घण्टाकर्णको लिङ्गाकृति चौबाटामा राखेपछि तानसेनमा जात्राको मौसम सुरु हुने तानसेनका हास्य कलाकार किरण चित्रकारले बताउनुभयो । खेतीकिसानीको काम सकिएलगत्तै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमङ्गल मनाउने परम्परा छ । 

गठेमङ्गलका दिन दुष्ट आत्मा, भूतप्रेत पन्छाउन घर सफासुग्घर गरेर राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने प्रचलन छ । तानसेन र जिल्लाका नेवार बस्तीमा पहिले पहिले महिला गठेमङ्गलका दिन हातमा मेहदी लगाउने, खुसियाली मनाउने चलन रहेको थियो ।