• १९ साउन २०८१, शनिबार

नेपाली श्रमिकलाई सचेत रहन आग्रह

blog

काठमाडौँ, साउन १९ गते । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । 

दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । 

लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । साथै दूतावासको सूचनामा नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकसित घटनाक्रमको निरन्तरता अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको दूतावासको सूचनामा उल्लेख छ । 

दूतावासको विज्ञप्तिमा लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गराउने उद्देश्यका साथ दूतावासले वेभसाइटमा लेबनानमा रहेका नेपाली नागरिकलाई आफू रहेको ठेगनासहित आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । 

इजरायली आक्रमणमा इरानमा प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उहाँको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्वन्द्व चर्किने सङ्केत देखिएको छ । हमासले गत वर्ष असोज २० इजरायलविरुद्ध आक्रमण गरेको थियो । आक्रमणमा एक हजार दुई सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।