• १९ साउन २०८१, शनिबार

टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण

blog

बागलुङ बजारमा घण्टाकर्ण निकाल्ने तयारीमा नेवार समुदाय । तस्बिर : खेमराज गौतम/रासस

भक्तपुर, साउन  १८  गते ।

प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् । 

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाइएको हो ।

किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठेमङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्दथ्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् । 

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिनुभयो । 

इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रूपमा गठेमङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ । “आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।”, संस्कृतविद् डा श्रेष्ठले भन्नुभयो । 

गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोलमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ । भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रूपी गठेमङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ । 

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुराउँछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ । 

घण्टाकर्णको दाहसंस्कार गरी फर्किँदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ । 

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ । 

शक्तिपीठमा घुइँचो  

यसैगरी, भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ । रासस