• १८ साउन २०८१, शुक्रबार

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

blog

तस्बिर : रासस

मङ्गलबारे (इलाम), साउन १८ गते । जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।

गत वर्ष प्रतिमन (४० किलो) ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताउनुभयो । 

“अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उहाँले भन्नुभयो । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उहाँले बताउनुभयो । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ । 

समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा पाँचका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा १० मा बिक्री हुँदै आएको छ ।

किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उहाँले भन्नुभयो ।

वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पुर्‍याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । 

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरूमा हुने गरेको महासङ्घको भनाइ छ । हाल ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य बढेर एक लाख नाघ्ने अनुमान गरिएको उहाँको भनाइ छ । 

पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको काँकडभिट्टा हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको कारोबार भएको थियो । आव २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो  । रासस