• १८ साउन २०८१, शुक्रबार

हेटौँडामा डेङ्गुविरुद्ध सचेतना

blog

डेङ्गु विरुद्ध हेटौँडामा निकालिएको सचेतनामूलक र्‍याली । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, साउन १८ गते । मकवानपुरमा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ । आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ हेटौँडामा डेङ्गुविरुद्ध सचेतनामूलक र्‍याली गरिएको हो । 

हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना एव्म सरोकारवाला निकायको संयुक्त प्रयासमा सचेतनामूलक र्‍याली गरिएको हो । स्वास्थ केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक र्‍याली हेटौँडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौरमा आएर समापन भएको थियो । 

मकवानपुरको हेटौँडा क्षेत्र गत आवमा पनि डेङ्गुबाट प्रभावित र उच्च जोखीममा परेको स्मरण गराउँदै अहिले सुरुवातदेखि नै वडावासीलाई माइकिङसहित सुरक्षित हुन आव्हान गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । मकवानपुरमा चालु आर्थिक वर्षको १ साउनदेखि १८ गते शुक्रबारसम्म २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ पुरुष ७ र महिला १६ सहित २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । मकवानपुरगढी गाउँपालिकामा २ पुरुष र २ महिलासहित चारजना तथा मनहरी र बकैया गाउँपालिकामा एक–एक जना पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । गत २४ घण्टामा तीनजना डेङ्गु सङ्क्रमित थपिएका छन् ।

डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् । 

गत आर्थिक वर्ष २०८०–८१ मा ८९१ जना डेँगुबाट प्रभावित हुनुभएको थियो जसमध्ये ४५५ पुरुष र ४३६ महिला रहनुभएको छ । गत आवमा डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।