• १८ साउन २०८१, शुक्रबार

किवी खेतीप्रति बढ्यो आकर्षण

blog

डोटी समाचारदाता

डोटी, साउन १८ गते ।  किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ । 

बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ । 

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार पछिल्लो समयमा किवी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । कृषकको सङ्ख्या पनि बढ्दै छ । उहाँले भन्नुभयो,  “आव २०७८/७९ सम्ममा नौ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिँदै आएको थियो । करिब ३५ मेट्रिक टन किवी उत्पादन हुने गरेको थियो । आव २०७९/८० मा २१ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएकोमा ४९.४ मेट्रिक टन उत्पादन भएको थियो ।”

आव २०८०/८१ मा बढेर २८ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिएको छ भने ६४.९६ मेट्रिक टन उत्पादन भएको छ । किवी खेती गर्ने क्रममा सुरुवाती दिनमा किसानको बढी मेहनत चाहिन्छ । 

स्थानीय कृषक पदम बोहोराले भन्नुभयो, “सुरुवाती दिनमा किवी खेतीका लागि किसानले झन्झटिलो माने पनि फल उत्पादन हुन थालेपछि दीर्घकालीन फाइदा हुन्छ । परीक्षणका रूपमा नौ वर्षअगडि मैले एक्लैले गाउँमा किवी खेती गर्दा उत्पादन हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको थियो ।” “आजभोलि राम्रै उत्पादन भइराखेको छ । सुरुवातका केही वर्ष धेरै मेहनत गर्नु परेको थियो । अन्न र तरकारीभन्दा पनि किवीबाट फाइदा पनि राम्रै हुँदै आएको छ,” उहाँले बताउनुभयो । उहाँको बडीकेदार गाउँपालिका–५, दुदिलामा किवी खेती रहेको छ । 

भीमदत्त राजमार्ग आसपासका क्षेत्रमा किवी खेती गर्दै आएका किसानलाई छिमेकी मुलुक भारतबाट समेत व्यापारीले किवीको माग गर्न थालेका छन् । जोरायल गाउँपालिकामा–१, गैराका कृषक भास्कर भट्टले ३५ रोपनी जमिनमा किवी खेती गरी १० क्विन्टल किवी भारत पठाएको बताउनुभयो । 

आर्थिक रूपमा अन्नबालीभन्दा फलफूल खेतीबाट किसानले बढी फाइदा लिन थालेका छन् । गत वर्ष किवीको बजार मूल्य दुई सयदेखि २५० प्रतिकिलोसम्म रहेको थियो । दुई सय प्रतिकिलो किवी बिक्री गर्न सके पनि फाइदा राम्रै हुने भनाइ किसानको छ । जिल्लामा ६० जनाभन्दा बढी किसानले किवी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

किवी बिरुवाको बिमा सुरु  

बिमा कम्पनीले किवीको बिरुवालाई बिमाको दायरामा ल्याउन थालेका छन् । राष्ट्रिय बिमा कम्पनीले जोरायल गाउँपालिका–१, गैराका किसान भास्कर भट्टले गरेको किवी खेतीको बिमा गरेको छ । किसान भट्टले लगाएको पाँच सय बोट किवीको २५ लाख रुपियाँ बराबरको कृषि बिमा गरिएको छ ।