• ११ मंसिर २०८१, मङ्गलबार

ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो

blog

बुढीगङ्गा नगरपालिका–१० का स्थानीय महिला कोदो रोप्दै । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, साउन १८ गते । साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको छ । 

त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोप्ने काम हुन्छ । पुरुषभन्दा प्रायः महिला कोदो रोप्न सक्रिय हुने गरेका छन् । गाउँमा पुरुषको बसोबास नभएकाले पनि रोपाइँ र कोदो रोप्न महिलाको संलग्नता बढी हुने गरेको छ । 

बिहानदेखि बेलुकासम्म धान रोपाइँ गरे जस्तो गरी कोदो रोप्ने काम भइरहेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय जुनकला सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौमा पाक्ने कोदो (अगन खाने कोदो) वैशाख/जेठमा लगाउने र कात्तिक/मङ्सिरमा पाक्ने कोदो यो बेला रोप्ने गर्छौं ।”

कोदो रोप्ने बेला भएकाले अन्य समयमा रोप्दा ढिलो पाक्ने र उब्जाउ कम हुने विश्वास गरिएको छ । कोदो रोप्न ढिलाइ गर्दा राम्रोसँग फल्दैन । स्थानीय महिला दिनरात कोदोको बेर्ना केलाउने, उखेल्ने र रोप्ने काममै व्यस्त हुने गरेको सार्कीले बताउनुभयो । यहाँको पाखो र भिरालो तथा पानी नलाग्ने जमिनमा कोदो खेती हुन्छ । कोदो खेतीका लागि बुट्यान, जङ्गल फँडानी गरी रान हाल्ने (जङ्गलमा आगजनी गरी) कोदो लगाउने काम गरिँदै आइएको छ । 

धान र गहुँको राम्रो उत्पादन नभए पनि बाजुरावासीका लागि कोदो छाक टार्ने र भोक मेटाउने आहार मात्र नभई पोषणयुक्त खाद्यका रूपमा लिने गरिन्छ । पुराना पुस्ताले कोदो खेती धेरै मात्रामा गर्ने गरेका भए पनि पछिल्लो पुस्ताले भने कोदोको व्यावसायिक खेती गर्न थालेका छन् । 

कोदोको रोटी र ढिडो सहरी क्षेत्रमा लोकप्रिय बन्न थालेपछि कोदोको व्यावसायिक खेती हुन थालेको हो । गाउँ गाउँमा सडक पुगेपछि दलेको दाल र फलेको चामल घरमै पुग्ने गरेकाले कोदोका परिकार बनाएर खानेको सङ्ख्या पनि घट्न थालेको छ ।

हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । यहाँको अर्गानिक कोदो विभिन्न सहरमा पुग्न थालेको छ ।

कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले स्थानीय तहले कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन् । यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । 

त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो । रोटीको सट्टा भात खाने बढेकाले तराईका कैलाली र कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट चामल ल्याउने गरिएको छ ।