• ७ मंसिर २०८१, शुक्रबार

पेरिस ओलम्पिक : पौडीमा एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

blog

पौडीमा प्रतिस्पर्धा गरेपछि एलेक्जेन्डर शाह ।

काठमाडौँ, साउन १५ गते । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर हिट चरणबाटै बाहिरिनुभयो ।   

हिट तीनमा प्रतिस्पर्धा गर्नुभएका उहाँले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्नुभएको थियो । उहाँ समग्रमा ५९औँ स्थानमा रहनुभयो । यस स्पर्धामा ७९ खेलाडीले भाग लिएका थिए । आफ्नै कीर्तिमानमा सुधार गर्नुभएका उहाँको नाममा यसअघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो ।


उहाँले गत फेब्रुअरीमा कतारको दोहामा भएको विश्व एक्वेटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाउनुभएको थियो । जारी ओलम्पिक्समा नेपाली खेलाडीले बनाएको यो पहिलो राष्ट्रिय कीर्तिमान हो । दोस्रो पदक ओलम्पिक खेल्नुभएका एलेक्जेन्डरले यसअघि टोकियो ओलम्पिकमा पनि एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएको थियो । 

यससँगै पेरिस ओलम्पिकमा नेपालको पौडी खेल यात्रा सकिएको छ । यसअघि पौडी खेलाडी डुवाना लामा पनि हिट्सबाट नै बाहिरिनुभएको थियो । एलेक्जेन्डर बाहिरिएसँगै ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये ५ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । 

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीकी डुवाना लामा पहिलो चरणबाट बाहिरिनुभएको हो । अब नेपालबाट म्याराथनमा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न  बाँकी छ। म्याराथनमा भाग लिन सन्तोषी मङ्गलबार नै पेरिस प्रस्थान गर्नुभएको छ । 

प्रिन्सको लगातार दोस्रो हार 

नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकमा लगातार दोस्रो हार खेप्नुभएको छ ।

पेरिसस्थित ला चापेला एरिनामा मङ्गलबार भएको समूह ‘पी’ को खेलमा प्रिन्स विश्व वरीयताको ४३औँ स्थानमा रहनुभएका आयरल्यान्डका हात गुयेनसँग २–० को सोझो सेटमा पराजित हुनुभयो । प्रिन्सले १–७, २१–५ को हार खेप्नुभएको हो । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट समय लागेको थियो । 


विश्व वरीयताको एक सय ७२औँ स्थानमा रहनुभएका प्रिन्स यसअघि पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८, २१–६ को सोझो सेटमा पराजित हुनुभएको थियो । समूह चरणको अन्तिम खेलमा अब प्रिन्सले ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नुहुनेछ । 

नेपालका लागि ओलम्पिकमा ब्याडमिन्टन  ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो ।