• १४ साउन २०८१, सोमबार

नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली

blog

बाघ । फाइल तस्बिर

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ ।

विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जङ्गल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । 

उहाँले सरकारले अन्तर्राष्ट्रिय फोरममा सन् २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने बताउनुभयो । उहाँले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जङ्गल ठुलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताउनुभयो ।

उहाँले बाघको संरक्षणको लागि वन्यजन्तु र मानिसबिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताउनुभयो । उहाँले बाघको अनकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असीमित हुन नहुने बताउनुभयो । उहाँले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बाघ संरक्षण गर्नुपर्छ तर सन् २०१० मा नै हामीले बाघको सङ्ख्या डबल गर्छौँ भन्यौँ । हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्नसक्छौं । त्यतिबेला डबल गर्ने भनेको तेब्बर भयो । अब दुई पटक बाघको सङ्ख्या डबल गर्दा मान्छेले देश छाडेर हिँडे हुन्छ । त्यस कारण बारम्बार बाघको सङ्ख्या डबल गर्न सम्भव छैन । हामीले एउटा लिमिट भित्र बाघको संरक्षण गर्नुपर्छ । बाधको वृद्धि पनि सीमाभित्र मात्रै गर्न सकिन्छ । हामी विभिन्न देशहरूलाई बाध बाँडिदिन सक्छौँ । सिङ्गै नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट ठुलो छ । त्यो जङ्गल बाघका लागि उपयुक्त छ । त्यहाँ बाघ जन्मेनन् होला तर त्यहाँ हामी पठाउन पनि सक्छौँ ।’’

उहाँले भन्नुभयो, ‘‘बर्दियामा गैँडा पठाउँदापठाउँदै । विभिन्न देशलाई गैँडा उपहार दिएका छौँ । हामीले बाघको संरक्षण गर्नुपर्छ । वन्यजन्तु र मान्छेका बिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुन्छ । एउटा बाधको लागि ३६ किलोमिटर वन क्षेत्र आवश्यक हुन्छ । बाघको अनकुल ठाउँ र वातावरण दिनुपर्छ । बाघ र मान्छेका बिचको द्वन्द्व अन्त्य पर्नुपर्छ । पर्याप्त खाना र सिरकार अन्त्य गर्नुपर्छ । प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्छ । तर असीमित हुनुहुँदैन । त्यसलाई सीमित मात्रामा गर्नुपर्छ । हौसिनु हुँदैन । भारतले हामी भन्दा ३० गुणा बढी बाघ पाल्न सक्छ । हाम्रोमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा छ । आरक्षणले मात्रै पुग्दैन । सघन वन क्षेत्र चाहिन्छ । प्राकृतिक वन क्षेत्र चाहिन्छ । वृक्षारोपण गरेका रुखले बाघलाई चल्दैन ।’’

उहाँले भारतसँग प्राप्त स्थान र जङ्गल भएकाले नेपालले भन्दा ३० गुणा बढी बाघ पाल्नसक्ने बताउनुभयो । उहाँले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जङ्गल नभएको बताउनुभयो ।