• १४ साउन २०८१, सोमबार

काभा महिला लिग भलिबलमा नेपालको लक्ष्य उपाधि : कप्तान शाही

blog

कप्तान अरुणा शाही ।

काठमाडौँ, साउन १४ गते । नेपाल घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने काभा महिला नेसन्स लिग भलिबलको उपाधि जित्ने लक्ष्य लिएको छ ।

उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकारात्मक सन्देश दिएको छ । 

नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभएको छ । उहाँले उपाधि जित्ने लक्ष्यसहित मेहनत गरेको पनि बताउनुभयो । 

लामो समयदेखि प्रशिक्षण प्रशिक्षणसँगै रसियाविरुद्धको खेल काभाको तयारीका लागि महत्त्वपूर्ण रहेको कप्तान अरुणा बताउनुहुन्छ । सुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भए पनि त्यसलाई क्रमिक रूपमा सुधार भइरहेको उहाँको विश्वास छ । 

‘‘रसियाका खेलाडीलाई हाइट एडभान्टेच भएर पनि उनीहरूको सर्भिस र साइटलाई रोक्न केही कठिनाइ भएन । रसियाविरुद्धको खेलले भारत, श्रीलङ्का र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुगेको छ ।  रसियाविरुद्ध हाइट भएको ब्लकमा खेल्दा केही अनुभज प्राप्त भयो । यद्यपि प्रतिद्वन्द्वीलाई कमजोर ठानेका छैनौँ,’’ अरुणाले भन्नुभयो । घरेलु समर्थकको साथ टोलीका लागि मनोबल बढ्ने उहाँको विश्वास छ । 

अहिले काभामा भएका टोली पनि बलिया रहेकाले उनीहरू खेल्ने सहज नहुने उहाँ बताउनुहुन्छ । काभा महिला भलिबलमा नेपालका लागि महत्त्वपूर्ण मानिएकी प्रतिभा माली चोटका कारण टोली बाहिर हुनुहुन्छ । 

नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलङ्का निकै बलियो रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतीय टोलीबाट खेल्ने तीन खेलाडीसँगको नेपालीले घरेलु लिग खेलेकाले त्यसको फाइदा हुने उहाँको विश्वास छ । 

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठुलो अवसर भएको बताउनुभयो । ‘‘रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न र कमजोरी सुधार गर्न पाएका छौँ । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ ? भन्ने कुरा मैत्रीपूर्ण खेलबाट सिकेका छौँ । भारत, इरान र श्रीलङ्काको स्तर नेपालभन्दा माथि रहेपनि जित सम्भव छ । काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती पनि टोलीलाई छ,’’ प्रशिक्षक भट्टले भन्नुभयो । 

टोलीमा रहेका १४ जना खेलाडीलाई नै अङ्क दिलाउन सक्नेगरी तयारी गराएको प्रशिक्षकले बताउनुभयो । नेपालले अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा गरिसकेको छ । टोलीमा सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी, लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट र सेटर प्रगति नाथ हुनुहुन्छ । 

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक टोलीमा स्थान बनाउनुभएको हो । टोलीको सहायक प्रशिक्षकमा भरत यादव हुनुहुन्छ । नेपालसहित इरान, भारत, श्रीलङ्का र माल्दिभ्सको सहभागिता रहने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रङ्गशालास्थित कभर्डहलमा हुनेछ ।