• १३ साउन २०८१, आइतबार

पेरिस ओलम्पिक : श्यान्टु र प्रिन्स पराजित

blog

विपक्षीको सट फर्काउँदै श्यान्टु श्रेष्ठ ।

काठमाडौँ, साउन १३ गते । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल पराजित हुनुभएको छ । 

शनिबार भएको खेलमा श्यान्टु प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित हुनुभयो । 

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराउनुभएको हो । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । पहिलो हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिनुभएको छ । 

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा चार पदक जित्ने खेलाडी हुनुहुन्छ । श्यान्टुले पेरिस ओलम्पिकमा छनोट चरण पार गरेर खेल्नुभएको हो । नेपालले टेबलटेनिसमा पहिलोपटक ओलम्पिकमा सहभागी जनाएको हो ।

खेलपछि श्यान्टुले सोचेभन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताउनुभयो । यस्तै श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको बताउनुभयो । ‘‘श्यान्टुले सक्दो राम्रो खेलेका हुन् । प्रतिद्वन्द्वी धैरे राम्रो खेलाडी हो । इब्राहिमको फोरह्यान्ड र ब्याकह्यान्ड पावर ड्राइभ एकदमै राम्रो थियो । हामीले सट हानेको बललाई इब्राहिमले रोक्ने होइन कि उल्टै हानी रहेका हुन्थे,’’ राजेन्द्रले भन्नुभयो । 

प्रिन्स विश्व नम्बर दुई भिक्टरसँग  पराजित

नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुई स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनसँग २–० को सोझो सेटमा पराजित हुनुभएको छ । विश्व वरियताको एक सय ७२औँ स्थानमा रहनुभएका प्रिन्स भिक्टरसँग २१–८, २१–६ को सोझो सेटमा पछि पर्नुभएको हो । 

प्रिन्सको समूहमा भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले जुला २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुला ३१ मा इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नुहुनेछ । विश्व वरीयतामा हात ४३औँ तथा मिसा ५८औँ स्थानमा हुनुहुन्छ । 

प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गर्नुभएको हो । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गर्नुभएको छ ।