• १३ साउन २०८१, आइतबार

नेपालमा काम छैन भारत जाँदा बन्धक

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, साउन १३ गते । लामो समय बेरोजगार बस्नुको पीडा सहन नसकेर भारतीय ठेकेदारको सम्पर्कमा भारतको काश्मीरस्थित श्रीनगरमा काम गर्न पुगेका धनुषा र सिराहाका २८ जना नेपाली श्रमिकलाई उद्धार गरिएको छ । 

श्रीनगरमा बन्धक बनाएर राखिएका धनुषाका सात र सिराहाका २१ जना नेपाली कामदारलाई ‘किन इन्डिया टिम’ ले उद्धार गरी बिहीबार धनुषा ल्याएर शुव्रmबार आफन्तको जिम्मा लगाएको थियो । उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारतस्थित नेपाली राजदूतावासको सहयोग तथा ‘किन इन्डिया’ को समन्वयमा उद्धार गरिएको हो । ती नेपालीलाई काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाएर राखिएको थियो । 

नेपाली श्रमिकको गुनासो छ, “नेपालमा सहजै काम पाइँदैन, पाए पनि एक दिन काम गरेर १० दिन बेरोजगार बस्नु पर्छ, त्यसैले बाध्य भएर भारत कमाउन जानु पर्छ तर त्यहाँ पनि काम गर्नेको सुरक्षा भने छैन, दलालको सम्पर्कबाट काम गर्न जानु पर्छ, त्यस्तोमा फसिने डर हुन्छ ।” 

रोजगारीको सिलसिलामा भारतमा पुगेकालाई बन्धक बनाइएको यो एक उदाहरण मात्र हो । यस्ता कैयौँ घटना अझै बाहिर आउन सकेका छैनन् । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उनीहरूलाई काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको राखिएको थियो । उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारतस्थित नेपाली राजदूतावासको सहयोग तथा ‘किन इन्डिया टिम’ को समन्वयमा नेपाल फर्काइएको हो । 

बिहीबार साँझ उनीहरूलाई दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो भने शुव्रmबार जनकपुरधाममा परिवार मिलन कार्यव्रmम गरी जिम्मा लगाइएको हो ।

यसअघि पनि श्रीनगरमै बन्धक बनाइएका ३५ जना नेपाली कामदारलाई ‘किन इन्डिया टिम’ को समन्वयमा उद्धार गरिएको थियो । उनीहरू सर्लाही, धनुषा र महोत्तरीका थिए । गत फेब्रुअरी ८ मा धनुषा, महोत्तरी र सर्लाहीका ४२ जना नेपाली कामदारलाई विभिन्न प्रलोभन देखाई श्रीनगरमा बन्धक बनाएर यातना दिँदै महिनौँ काम गराएका थिए भारतीय ठेकेदारले । ती ४२ जनामध्ये कोही भागेर नेपाल आए भने कोहीलाई कुटपिट गरेर बिरामी बनाएर नेपाल फिर्ता पठाइयो । बाँकी रहेका ३५ जनालाई अभियन्ता सरोज रायको पहलमा पराराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र ‘किन इन्डिया टिम’ को समन्वयमा उद्धार गरी नेपाल ल्याइएको थियो । उक्त उद्धार कार्यलाई सफल बनाउन ४२ जनाको टोलीबाट बिचमै काम छोडेर भाग्नुभएका चन्दन मण्डलको मुख्य भूमिका थियो । चन्दन त्यहाँबाट भागेर आएपछि वास्तविकता सबैलाई थाहा भयो । त्यसपछि उद्धारका लागि पहल सुरु भएको थियो । 

यस्तै गत वर्ष असारमा जनकपुरधाम–७ स्थित मुसहर बस्तीका १२ जना टोलीलाई पनि गुजरातस्थित रुईको फ्याक्ट्रीमा सहज काम र मनग्गे आम्दानी भनेर सीमावर्ती क्षेत्र मधुवापुरका ललन नाम गरेका ठेकेदारले लगेका थिए । काम गर्न नसकेपछि उनीहरू राति मौका छोपेर भागेर आए तर जति दिन काम गरेका थिए, त्यसको पैसा पाएनन् । 

विपन्न तथा आर्थिक समस्यामा परेका नेपाली नागरिकलाई प्रलोभन देखाई कामदारका रूपमा भारत लैजाने र त्यहाँ लगेर बन्धक बनाएर काम गराउने प्रवृत्ति बढ्दै गएको छ । भारतीय ठेकेदारले राम्रो काम र मनग्गे आम्दानीको प्रलोभन देखाई नेपाली श्रमिकलाई यातना दिने, बन्धक बनाएर काम गराउने र महिनौँ काम गराएर पारिश्रमिक नदिने जस्ता प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको छ तर सरकारले त्यस्तो घटना रोक्न कुनै कदम चालेको छैन । 

“नेपालमा रोजगारी नपाइनु सबैभन्दा ठुलो समस्या बनेको छ, नेपालमा रोजगारी पाए कोही पनि बाहिर जाने थिएनन् । घरपरिवारसँग बसेर काम गर्ने इच्छा सबैको हुन्छ तर नेपालमा रोजगारी नपाउँदा बाध्य भएर पैसा हुने खाडी मुलुक र पैसा नहुने भारतका विभिन्न जिल्लामा यसरी नै दलालको सम्पर्कबाट जानु पर्छ,” भारतबाट उद्धार गरी ल्याइएका श्रमिक भन्छन्, “पैसा हुने समुद्रपार जान्छन्, पैसाको जोहो गर्न नसक्ने भारतमा गएर बिचल्ली पर्छन्, हाम्रो देशको वास्तविकता यही हो ।”

अहिले पनि दैनिक जसो जनकपुरधामलगायत मधेशका सहरको मुख्य चोक चौराहामा बिहान ७ देखि ११ बजेसम्म काम खोज्ने कामदारको घुइँचो लाग्ने गरेको छ । तीमध्ये कतिले काम पाउँछन्, कतिले पाउँदैनन् र खाली हात घर फर्किन्छन् । दैनिक रूपमा मजदुरी गर्नेको कामको सुनिश्चित नभएका कारण भारत जान बाध्य हुन्छन् नेपाली कामदार । त्यसकारण नेपालभन्दा भारतमा काम गर्न जान रुचाउँछन् तर त्यहाँ भने काम र ज्यानको सुरक्षा छैन । 

नेपाल सरकारले देशबाहिर काम गर्न जानेमध्ये रोजगारीका सिलसिलामा भारतका विभिन्न जिल्लाका काम गर्न पुग्ने नेपालीको तथ्याङ्क नेपाल सरकारसँग छैन ।

‘किन इन्डिया’ का प्रतिनिधि नवीन जोशी भन्नुहुन्छ, “आर्थिक समस्यामा परेका परिवारलाई प्रलोभनमा पारी भारतका विभिन्न स्थानमा राम्रो काम र मनग्गे आम्दानी गराउने बहानामा भारतीय ठेकेदारले सम्पर्कबाट बर्सेनि हजारौँ महिला तथा पुरुषलाई भारत लिएर जाने गरेका छन् । काम मन नपरे कोही भाग्छन् भने कोही बाध्य भएर बन्धक बनेर काम गरिरहेका हुन्छन् । भारत जाने कामदारबारे नेपाल सरकारले उचित व्यवस्था मिलाए नेपाली कामदार पनि भारतमा ढुक्क भएर काम गर्न सक्ने थिएँ ।”भारत गएका कामदारसँग नेपाल सरकारले विभेद नगरी काम र जिउज्यानको सुरक्षाको जिम्मेवारी पनि लिनुपर्ने अभियन्ता रायले बताउनुभयो ।