• १६ भदौ २०८१, आइतबार

ग्रामीण पर्यटन विकासको मुख्य मोडेल

blog

पर्यटकले स्थानीय गाउँको परम्परागत जीवनशैली, वेशभूषा, नृत्य, सङ्गीत र अन्य सांस्कृतिक कार्यक्रमको अनुभव गर्छन् । स्थानीय खानपान, हस्तकला र परम्परागत उत्पादनको प्रदर्शनी र बिक्री पनि ग्रामीण पर्यटनको हिस्सा बन्छ । त्यसैले ग्रामीण पर्यटनको विकास नै अबको विकासको मुख्य मोडेल हो ।

पर्यटन भनेको आदर्श जीवनशैली हो । हाँसखेल, नाचगान, घुमफिर र खानपिन हो । जीवनको उद्देश्य नै जीवन्त–मस्ती हो । यो जीवन किन ? हिजो जन्मियो, आज हुर्कियो, भोलि मरिन्छ पक्का छ । जीवनका तीन वटै पाटाका लक्ष्य सधैँ एउटै हो – खुसी । खुसी अर्थात् शान्ति अर्थात् आनन्द नै यो मानव जीवनको प्रमुख लक्ष्य हो । के सधैँ खुसी मिल्छ त ? 

पर्यटन व्यवसायमा लाग्नु पर्छ, पाहुनाको खुसीका लागि पनि सधैँ खुसी हुनु पर्छ । यस्तै खुसी खुसीमै जीवनको डुङ्गा पार लाग्छ । यदाकदा हुने श्रीमान्–श्रीमतीबिचको सामान्य घोचपेच पनि देखाउनैका लागि भए पनि मिलाउनै पर्छ – रिसाउनै मिल्दैन । यसको अर्थ प्रेम नै हो; प्रेमले नै त प्रेम बढ्ने हो । पाहुना आउँदा मिठोमसिनो खुवाउनु नै प¥यो, घर सफा राख्नै पर्यो । यसो गर्दा आफैँले मिठो खाइन्छ, आफ्नै घर सफा हुन्छ । प्रेमले, सफा घरमा, मिठो खाएर, नाचगान भजनकृतन गरेर जीवन बिताउनु नै त जीवन हो । पर्यटकको रुचि पनि त यही खुसी हो । हाम्रो यही आदर्श ग्रामीण जीवनपद्धति नै नेपालको ग्रामीण पर्यटन वस्तु हो । यो आदर्श जीवनशैलीको व्यावसायिक प्रयोजन तथा उपादेययता नै पर्यटन हो । त्यसैले पर्यटन भनेको हाम्रो आदर्श जीवनशैली हो । 

जीवनशैली र पर्यटन 

के मस्त पर्यटकीय जीवनशैलीले जीवन चल्छ त ? काम गर्नु पर्दैन ? पर्छ । कसैले हात मात्रै हल्लाउँदा पनि कति राम्रो नृत्य देखिन्छ, कसैले मरी मरी, बाँदर उफ्रे झैँ उफ्री उफ्री नाचे पनि राम्रो देखिँदैन । नाच्न जान्दैन आँगन टेढो । ताल मिलाएर हात हल्लाए पुग्छ – काम हुन्छ । जीवनलाई प्रकृति र संस्कृतिसँग ठ्याक्कै मिलाउने प्रयत्न गर्नु पर्छ । पञ्चैबाजा बजाएर बेठी लगाएर रोपाइँ गर्नु पर्छ । गाईको पूजा गर्न गाई पाल्नु पर्छ । खेती रोप्न उभौली, खेती भित्राउन उधौली मनाउनु पर्छ । भूत प्रेत हटाएर सुख शान्ति फैल्याउन शङ्ख घण्ट बजाएर पूजा आरती गर्नु पर्छ । फेरी लगाउने लामालाई पाथी दान गर्नु पर्छ । मस्तसँग सबै चाडपर्व मनाउँदै, रमाउँदै उत्साहपूर्ण तरिकाले खेतीपाती उद्योग व्यवसाय गर्नु पर्छ । दुःखले होइन, सुखले, खुसीले, प्रेम र भक्तिले ऐतिहासिक, सांस्कृतिक तथा आधुनिक दुवै ज्ञान लिएर कर्म गर्नु पर्छ । संस्कृति, अध्यात्म, रीतिरिवाज र विज्ञानको अनुसरण गर्नु पर्छ । यो हाम्रो जीवनशैली विश्वका लागि अनौठो नमुना हुन्छ । यही नमुना हाम्रो ग्रामीण पर्यटकीय वस्तु हो । यही हेर्न हाम्रा बिदेसिएका युवा फर्किने छन् । विदेशीहरू हाम्रो अनौठो मस्त जीवनशैली हेर्न, सिक्न र रमाउन आउने छन् । त्यसैले हाम्रो जीवनशैली – ज्ञान, कर्म र भक्तिले उत्कृष्ट सुखदायी पर्यटनमैत्री हुनु पर्छ । 

कृषिले जीवनशैली परिवर्तन हुन्छ ?

सन् १९९० को कृषि प्रणाली तथा अनुदानमा आधारित कृषि प्रशासनले किसानको जीवनमा परिवर्तन ल्याउन सकेन । यही प्रक्रिया र परिस्थितिले किसान सधैँ निराश हुन बाध्य छन् । विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सकेका छैनौँ । उपभोक्ता विषादीयुक्त फलफूल तरकारी खान बाध्य छन् भने नेपाली किसान बजार नपाएर आफ्नो उत्पादन सडकमा फाल्न बाध्य छन् । नेपाल विश्वव्यापीकरण तथा विश्व व्यापार सङ्गठनको सदस्य भएकाले कुनै पनि देशको आयात रोक्न सकिँदैन । निर्बाध रूपमा सबै आउने छन् । त्यसैले चिनियाँ तथा भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्ने सम्भावना नै छैन । त्यसैले सरकारले कृषिमा जतिसुकै लगानी गरे पनि बालुवामा पानी हाले झैँ आजसम्म किसानको जीवनस्तरमा कुनै गतिलो परिवर्तन हुन सकेको छैन । कृषिमा त एउटा मल कारखानासम्म हाम्रो छैन भने भारतले कुनै हालतमा पनि उसको आफ्नो नेपाल बजार खस्किन दिने छैन । त्यसैले यो समय नेपालको उद्योग तथा कृषिको ‘पाराडाइम सिफ्ट’ गर्ने समय हो । 

ग्रामीण पर्यटनले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर सुधार्न मद्दत गर्छ । पर्यटनको विकासले शिक्षा, स्वास्थ्य, र अन्य सामाजिक सेवामा पनि बिस्तारै सुधार हुन्छ । यसले स्थानीय जनता र अन्तर्राष्ट्रिय समुदायबिचको सम्बन्धलाई बलियो बनाउँछ । यस्तै ग्रामीण पर्यटनले पर्यावरणीय सचेतनाको प्रवर्धन गर्छ । स्थानीय समुदाय र पर्यटकहरू दिगो पर्यावरणीय अभ्यासहरू अपनाउन प्रेरित हुन्छन् । जैविक विविधताको संरक्षणमा सहयोग पुग्छ । पर्यटकहरू स्थानीय गाउँलेको दैनिकी, खेतीपाती, पशुपालन र अन्य आर्थिक गतिविधिमा सहभागी हुन्छन् । होमस्टेमा बसेर पर्यटकले गाउँलेको जीवनशैलीलाई नजिकबाट अनुभव गर्छन् । पर्यटकले गाउँका सुन्दर हिमाल, हरियाली जङ्गल, नदीनाला, र जलाशयहरूको अवलोकन गर्छन् । ट्रेकिङ, हाइकिङ, क्याम्पिङ र फोटोग्राफी जस्ता गतिविधि गर्छन् । पर्यटकले स्थानीय गाउँको परम्परागत जीवनशैली, वेशभूषा, नृत्य, सङ्गीत र अन्य सांस्कृतिक कार्यव्रmमको अनुभव गर्छन् । स्थानीय खानपान, हस्तकला र परम्परागत उत्पादनको प्रदर्शनी र बिव्रmी पनि ग्रामीण पर्यटनको हिस्सा बन्छ । त्यसैले ग्रामीण पर्यटनको विकास नै अबको विकासको मुख्य मोडेल हो ।

ग्रामीण पर्यटनको पहिचान 

नेपालका लगभग ८० प्रतिशत घरबाट हिमाल देखिन्छ । त्यस्तै लगभग ८० प्रतिशत घरमा शङ्ख, घण्ट, डमरु बजाएर पूजापाठ आरती हुन्छ । ६० प्रतिशत जनता किसान छन् । किसानको घरमा किसानी संस्कृति हुन्छ । मकै छोडाउने, बिस्कुन सुकाउने, गुन्द्रुक हाल्ने, पशुपालन गर्ने, भकारीमा भण्डारण गर्ने, गाई दुहुने, दुध तताउने, मोही पार्ने, मूल कृषि उत्पादनका साथै करेसाबारीमा फूल तरकारी रोप्ने आफ्नै अद्वितीय परम्परा छ । त्यस्तै बेलुका रोदी बस्ने, दोहोरी गाउने, भजन कीर्तन गर्ने, रामायण महाभारतको श्लोक भन्ने, नाचगान गर्ने खानपिन गर्ने, जात्रा चाडपर्व मनाउने अत्यन्तै समृद्ध कृषिमैत्री संस्कृति छ । नेपाली संस्कृतिको संरक्षण नै नेपालीको पहिचानको संरक्षण हो । नेपालको पहिचान नै नेपाली राष्ट्रियता हो । यही पहिचानको पर्यटकीयकरण नै ग्रामीण पर्यटन हो । कृषिलाई अर्गानिक बनाउनेतर्फ सोच्नु पर्छ । स्वस्थ अर्गानिक खाना खान भारतीय तथा चिनियाँ पर्यटकलाई कूटनीतिक र रणनीतिक पद्धतिले निम्ता गर्नु पर्छ । 

आफ्नै घरमा पालेको लोकल कुखुरा आफ्नै घरमा आएका पाहुनालाई डलरमा बेच्ने कृषि पर्यटन प्रणालीको विकास नै कृषिको ‘पाराडाइम सिफ्ट’ हो । यो नै ग्रामीण पर्यटनको विकासको सुरुवाती आधार हो । यस्तै अर्कोतर्फ नेपाली उद्योग व्यवसायले विश्वबजारमा प्रवेश नै गर्न सक्दैन । त्यसैले मेसिनले होइन हातले निर्माण गर्ने सामान उत्पादन गर्ने र सुभेनियर अर्थात् कोसेलीका रूपमा तिनै पर्यटकलाई आफ्नै घरआँगनमा बिक्री वितरण गर्नु नै उद्योगको ‘पाराडाइम सिफ्ट’ हो । केवल आफ्नो पुरानो रैथाने–स्थानीय कृषि तथा उद्योग अथवा व्यवसायलाई वैज्ञानिक रूपले हेर्नलायक भव्य नमुना बनाउने, अर्थात् आफ्नो व्यवसायको भव्य पर्यटकीय उत्तरआधुनिकीकरण नै ग्रामीण पर्यटन हो । वास्तवमा यही भव्य परिवर्तन नै कृषि र उद्योगको ‘पाराडाइम सिफ्ट’ हो । 

‘पर्यटकीय देश नेपाल, हरेक घर अतिथि घर’ भनेर एउटा राष्ट्रिय आह्वान गरिदिए पुग्छ । जनता आफैँले घर सिँगार्न थाल्ने छन् । चौतारी, पाटी, पौवा, धारा, कुवा तथा इनार सफा हुन थाल्ने छन् । विदेशमा पुगेका सबै नेपाली नेपालका स्वघोषित दूत हुने छन् । नेपालको होटेल तथा पर्यटन उद्योग लगभग २५ लाख पर्यटकलाई व्यवस्थापन गर्न अहिले नै सक्षम छ । हजारौँ होमस्टे पर्यटकको बाटो हेरेर बसेका छन् । केवल निम्ता गरिदिए पुग्छ । 

सम्भावना 

लुम्बिनी, पशुपतिनाथ र सगरमाथा भएको देश नेपाल हो । विविध जातजातिका भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व समेट्दा नेपालमा ३६५ दिन नै कुनै न कुनै चाडपर्व परेको हुन्छ । त्यसैले भव्यसँग चाड मनाउनु पर्छ । अनि आएका पर्यटक सधैँ मक्ख पर्छन् । सबै नेपालीको घरमा थप एउटा पाहुना कोठा, भान्छा, पूजाकोठा र सफा बाथरुम हुनु पर्छ । घरसँगै सुधारिएको गोठमा पशुपालन गरिएको हुनु पर्छ । यति गरियो भने नेपालका सबै घरलाई होमस्टे बनाउन सकिन्छ । भारतको जनसङ्ख्या लगभग १.२४८ अर्ब, चीनको जनसङ्ख्या लगभग १.४२५ अर्ब गरेर २.६७३ अर्ब रहेको छ । यसको एक प्रतिशत भनेको लगभग दुई करोड ८० लाख हुन्छ । नेपालका लगभग ६० लाख घरमा व्यवस्थापन गर्दा प्रतिघर चार पर्यटक राख्न सकिन्छ । बिनालगानीका मानौँ ५० लाख घरमा दैनिक चार जना पर्यटक राख्न सकियो भने नेपाली अर्गानिक उत्पादनको बजार खोज्न जान्नु पर्दैन । यहीँ दिगो बजार स्थापित हुन्छ । भारत, चीनलाई प्रतिस्पर्धा होइन, प्रेम गरे पुग्छ । अतिथि देवो भव: भनेर अतिथिको राम्रो गाँस, बास र मनोरञ्जनको व्यवस्था गरे पुग्छ । आएका पर्यटकसँगै आफ्नो जीवन रमाइलोसँग व्यतीत गरे पुग्छ । आफ्नै बारीमा फलेको अर्गानिक शुद्ध खाना खाएर, आफ्नो रमाइलो सांस्कृतिक जीवन बिताए पुग्छ । बस मस्त खुसी भए पुग्छ । जम्मा ३५ लाख जनसङ्ख्या भएको दुबईको १५÷२० वर्षअघि यहाँको मरुभूमिमा केही थिएन तर अहिले एक करोड ७० लाख पर्यटक प्रतिवर्ष आउने गर्छन् । जनसङ्ख्याभन्दा पाँच गुणा पर्यटक यहाँ आउँछन् । 

निष्कर्ष 

नेपाल र नेपालीले आफ्नो संस्कृति र सभ्यता बचाउनु अनिवार्य छ । आधुनिकताका नाममा र विकृत पुँजीवादले अकुत धन कमाउने लोभ बढेको छ । विदेशी शिक्षा, दर्शन तथा सिद्धान्तको अतिक्रमणले हामीले हाम्रो पहिचान बिर्सिँदै गएका छौँ । त्यसैले विश्वव्यापीकरणको तरङ्गमा वैज्ञानिक रूपले नेपाललाई सक्षम राख्न अब उत्तरआधुनिक बाटो पहिल्याउन ढिलो गर्नु हुँदैन । हरेक पालिकाले आफ्नो स्थानीय जनता र स्थानीय उत्पादनलाई पर्यटनमा जोड्नु पर्छ । यति राम्रो भव्य देशमा हामीले पद्धति बसाउन सकेनौँ । आफ्नो मौलिक ज्ञान चिन्न सकेनौँ । बुद्ध जन्मेको देशमा आफ्नै पहिचानलाई माया गरौँ । आएका पाहुनालाई प्रेम गरौँ । यही जीवन पद्धति नै ग्रामीण पर्यटन हो । यही मार्गको निर्माण नै ग्रामीण पर्यटनको विकास हो । गाउँलाई सबै सुविधा सम्पन्न नमुना गाउँको निर्माण गर्नु नै ग्रामीण पर्यटनको विकास हो । 

Author

डा. बिपी बडाल