• १० साउन २०८१, बिहिबार

सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिँदै

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) साउन १० गते । इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमित तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो । 

स्वास्थ्य संस्थाले नियमित रूपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिपोर्टिङ सहित छ छैन जस्ता विषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नियमिति तथ्याङ्क गुणस्तर मापन गर्दा स्वास्थ्य संस्थाले खोप कार्यक्रम नियमित गरेनगरेको, सुरक्षित मातृत्व प्रभावकारी भए÷नभएको, प्रजनन अधिकार सम्बन्धीको अवस्था काम आदिका बारेमा स्वास्थ्य संस्थाले कुन रूपमा काम गरिरहेका छन् र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा सुझाव दिइने गरिएको छ । 

अहिले पालिकाका १४ वडाका १४ स्वास्थ्य संस्थामा पालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्री र स्वास्थ्यकर्मी रणवीर लोहारले तथ्याङ्क गुणस्तर मापनको काम गरिरहनुभएको छ । जनस्वास्थ्य निरीक्षक खत्रीले स्वास्थ्य संस्थामै पुगेर गरिने तथ्याङ्क गुणस्तर मापनले स्वास्थ्यकर्मी र व्यवस्थापनसँग छलफल गरिने भएका कारण स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो । शाखा प्रमुख अधिकारीले भन्नुभयो, "गुणस्तर हेरिन्छ, जसले गर्दा सुधार गर्नुपर्ने देखिएमा स्वास्थ्यकर्मीलाई थप क्षमता विकासका तालिम दिन्छौ ।" नगरमा हाल एक सय सात जना कर्मचारीले सेवा दिँदै आएका छन् । 

सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरिरहेको छ । नगरले आर्थिक वर्ष २०८१-०८२ का लागि आन्तरिकतर्फ २ करोड ५५ लाख ८० हजार बजेट विनियोजन गरेको छ । सर्सत तर्फ स्वास्थ्य क्षेत्रका लागि ७ करोड २७ लाख ८६ हजार पाँच सय रुपियाँ गरी जम्मा ९ करोड ८३ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट विनियोजन भएको छ । 

पालिकाले स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको १० दशमलव ५९ अर्थात् ११ करोड ७२ लाख ५६ हजार पाँच सय रुपियाँ बजेटमा काम गरिने नगरका आन्तरिक लेखा परीक्षण अधिकृत प्रदीप चापागाईँले जानकारी दिनुभयो । 

नगर प्रमुख रण बहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भइरहेको जानकारी दिनुभयो । नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ । उक्त मेसीनले १५ मिनेटमा सबै प्रकारका रिर्पोट दिन सक्ने बताइएको छ । नगरले फिक्कल अस्पताललाई पेपर लेस बनाएर डिजिटलाईज गर्ने काम समेत गरिरहेको जानकारी दिएको छ ।