• १२ साउन २०८१, शनिबार

'इँटा भट्टा' बार्सिलोना फिल्म फेस्टिभलमा छनोट

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, साउन १० गते । सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ । 

सप्तरीको राजविराज नगरपालिका ४ निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित शोर्ट डकुमेन्ट्री 'इँटा भट्टा' बार्सिलोना अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलको ३१ औं संस्करणमा आधिकारिक रूपमा छनोटमा परेको हो । 

यो डकुमेन्ट्री सो फेस्टिभलको ‘मोनार्का सेक्सन डकुमेन्ट्री’ खण्डको प्रतिस्पर्धामा छनोट भएको निर्माता मुखियाले बताउनुभयो । छनोटमा परेको इँटा भट्टा डकुमेन्ट्री यही २०२४ नोभेम्बर १ देखि २३ सम्म पेरिस’ को बार्सिलोनामा हुन लागेको फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछ । उहाँका अनुसार इँटा भट्टा वातावरणीय प्रभाव र वरपरका जनजीवनहरुको दैनिक पीडामा आधारित छ । 

सामान्यत इँट्टा भट्टाबाट निस्किने धुवाँ, धुलोको सानो स्ट्रोकले व्यक्तिलाई असहज बनाउन सक्छ, उहाँले भन्नुभयो, अब एउटा यस्तो परिदृश्यको कल्पना गर्नुहोस् जहाँ यस्तो इँटा भट्टा वरिपरि वर्षौंदेखि धेरै गाउँहरु छन्, त्यहाँ जन्मिने बच्चाहरु हानिकारक धुवाँ धुलोले भरिएको वातावरणमा जीवनको पहिलो श्वास लिन बाध्य छन् । उनीहरुको यस पीड़ालाई बोल्ने र सोबारे बहस सिर्जना गरेर उचित वातावरणको निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले इँट्टा भट्टा डकुमेन्ट्री निर्माण गरेका छौं । उहाँले थप्नुभयो, "यो एउटा सानो तर आवश्यक प्रयास हुन्छ भन्ने धारणा राखेर यो डकुमेन्ट्री निर्माण गरेका छौं ।"

यसअघि प्रथम पटक गत वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजित नेपाल ग्रामीण चलचित्र महोत्सव २०८१ मा आधिकारिक रुपमा छनोट भएर प्रिमियर भएको निर्माता मुखियाले त्यसपछि जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानेडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि आधिकारिक रुपमा छनोट भएर प्रदर्शन भएको जानकारी दिनुभयो । 

सप्तरीमा निर्माण गरिएको डकुमेन्ट्रीमा इँटाभट्टाका कामदार मजदुरको दैनिक काम, खानपान, बसोवास, बालबच्चाको पढाइलेखाइ, शिक्षा, जनचेतना तथा बाहिरी वातावरण, नजिकको टोलबस्तीमा पारेको असरलगायतको विषयवस्तुलाई चित्रण गरिएको उहाँले बताउनुभयो ।