• ९ साउन २०८१, बुधबार

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

blog

गाेरखापत्र अनलाइन/रासस

काठमाडौँ, साउन ९  गते । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले महाराजगन्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।  

यस्तै, जहाजमा रहेका क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।