• ९ साउन २०८१, बुधबार

प्रदेश सरकारको लगानीमा सडक कालोपत्रे

blog

कालोपत्रे गरिएको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा पर्ने पाँचखाल–बोहोरेदोभान सडकखण्ड । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, साउन ९ गते  । आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारको लगानीमा काभ्रेपलाञ्चोक जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने १४ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लामा गरी २१ किलोमिटर सडक कालोपत्रे गरेको हो । 

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले प्रदेश सरकारको लगानीमा काभ्रेपलाञ्चोक जिल्लामा १४ किलोमिटर र भक्तपुर जिल्लामा करिब सात किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । उहाँले आव २०८०/८१ मा काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकास्थित छेडा–कुर्थली–सलम्बु–काफ्ले–चौरीखोला साढे पाँच किलोमिटर सडक, पाँचखाल–बोहोरेदोभान सडक तीन किलोमिटर, दाप्चा पिपलटार–फलामेसाँघु २.१ किलोमिटर, शङ्खु–दाहालटार–गहते–नेपानेटार–खाक्सी सडक दुई किलोमिटर र महाभारतको तीनखुट्टे–देवीटार सडकको एक किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको बताउनुभयो । उहाँले कार्यालयको सेवा क्षेत्र रहेको भक्तपुरमा पेप्सीकोला–मनोहरापुल–बोडे नीलवाराही–तेलकोट सडक ४.७ किलोमिटर र भक्तपुर–कौशलटार–बिरुवा सडक दुई किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । सिडिई श्रेष्ठले आव २०८०/८१ मा कार्यालयले काभ्रेपलाञ्चोक र भक्तपुरमा गरेर १८ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण, १९ किलोमिटर ग्राभेल स्तरमा सडक स्तरोन्नति, ९.६७ किलोमिटर सडक ढलान स्तरमा स्तरोन्नति गरिएको बताउनुभयो । 

त्यस्तै ६५ किलोमिटर सडकमा टेवा पर्खाल, ग्याबिन जाली, ढुङ्गा सोलिङ गर्ने, नाली निर्माणलगायतको कच्ची सडक स्तरोन्नति, सडक हेरालुमार्फत ४४ किलोमिटर सडक नियमित मर्मतसम्भार, आठ वटा सडक पुल र दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । गत आव २०८०/८१ मा बहुवर्षीय स्वीकृत प्रादेशिक सडक पुल अन्तर्गत लीलावती खोला आरुचार काफलडाँडा पुरानो भोटेगाउँ हुँदै रानीकोट सडकमा ढडिन पुल, गैरिबिसौना सालठाटी जोड्ने चाखोला पुल, डाँफेखोला बालुवा तीनपिप्ले जोड्ने पुल, च्याल्टीखोला पुल निर्माण, लीलावतीखोला पाटीचौर पुल, भैँसेपाटी सडकमा पर्ने घट्टेखोला पुल, भाजु भैरव सडक पुल, भक्तपुरको सडक पुल र सङ्घीय ससर्त अनुदान अन्तर्गत मण्डनदेउपुर नगरपालिका–९ र १० जोड्ने टोड्केखोला सडक पुल निर्माण सम्पन्न भएको हो । 

यसै गरी बहुवर्षीय स्वीकृत प्रादेशिक झोलुङ्गे पुलमध्ये बेथानचोक गाउँपालिका–५ मा रहेको भाङ्गला टाँकीडोल (लड्कुखोला) झोलुङ्गे पुल र मण्डनदेउपुर नगरपालिका–१० मा रहेको हल्देटार सुकुटे बागाहा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । सिडिई श्रेष्ठले गत आवमा कार्यालयका दुई अर्ब ९० करोड ३९ लाख ४० हजार रुपियाँ पुँजीगत बजेटमध्ये ८७.८७ अर्थात् दुई अर्ब ५५ करोड १४ लाख ११ हजार रुपियाँ खर्च भएको बताउनुभयो ।