• ८ साउन २०८१, मङ्गलबार

सवा ३४ करोडका अवैध सामान बरामद

blog

फाइल तस्बिर

वीरगञ्ज (पर्सा), साउन ८ गते । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नौ करोड ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताउनुभयो ।

“भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो । “बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ”, सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको छ । 

सोही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । रासस