• ८ साउन २०८१, मङ्गलबार

अध्यागमन ऐन निर्माणमा सघाउने गृहमन्त्रीको प्रतिबद्धता

blog

गृहमन्त्री रमेश लेखक मङ्गलबार अध्यागमन विभागको निरीक्षणपश्चात् विभागका कर्मचारीहरुलाई निर्देशन दिँदै । सौजन्य तस्बिरः गृहमन्त्रीको सचिवालय/रासस

काठमाडौँ  साउन ८ गते ।  गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

 आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । 

उहाँले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिनुभयो ।

 मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै उहाँले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिनुभयो । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले 

सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्छ भन्नुभयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो । 

विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताउनुभयो । रासस