• २ जेठ २०८३, शनिबार

बभनगामाका अग्निपीडितलाई पाँच लाख बराबरको राहत

blog

बभनगामाका अग्निपीडितलाई राहत वितरण गर्दै सेभद सप्तरीका अध्यक्ष ध्रुव देव । तस्बिर : सुधा देव

सुधा देव 
भारदह, जेठ २ गते ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभद सप्तरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका अग्निपीडित परिवारलाई करिब पाँच लाख रुपियाँ बराबरको राहत सामग्री शुक्रबार वितरण गरेको छ ।

१० अग्निपीडित परिवारलाई ३० बण्डल जस्ता, २० जना बालबालिकालाई किताब बोक्ने झोला, विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले बताउनुभयो ।

“यो बर्खाको मौसममा अग्निपीडितलाई तत्काल ओत लाग्न सकोस् र बालबालिका शिक्षाबाट वञ्चित हुन नपरून् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरेका हौँ,” उहाँले भन्नुभयो ।

गत साता बभनगामामा विद्युत् सर्ट भएर भएको आगलागीमा १० परिवारका २० वटा घर जलेर नष्ट हुँदा करिब ५० लाख रुपियाँ बराबरको क्षति भएको थियो । आगलागीपछि पीडितहरू खुला आकाशमुनि बस्न बाध्य भएको स्थानीय वैद्यनाथ यादवले बताउनुभयो ।

अग्निपीडित जुगाई यादवका अनुसार आगलागीपछि परिवारहरूले अझै पनि आधारभूत आवश्यकतामा समस्या भोगिरहेका छन् । विशेषगरी शौचालय र खानेपानीको समस्या रहेको उहाँले बताउनुभयो ।

“अहिलेसम्म खानेपानीको उचित व्यवस्था हुन सकेको छैन,” उहाँले भन्नुभयो, “छिमेकीको ट्युबवेलबाट पानी ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।”