• ८ साउन २०८१, मङ्गलबार

माग नभएपछि उत्पादन स्थगन गर्दै आइरन उद्योग

blog

विराटनगर, साउन ८ गते । एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगले एक सातायता फलामे डन्डी उत्पादन र स्पन्ज मेल्टिङ गर्ने दुवै काम स्थगन गरेको हो । उद्योग बन्द भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई भने बिदा दिइएको छैन । उद्योगले उत्पादन बन्द गरेर प्लान्ट तथा गोदाम सरसफाइमा ती मजदुरलाई खटाइरहेको छ । 

उद्योगका सञ्चालक पवनकुमार सारडाले उद्योगमा उत्पादित तयारी वस्तु बजारमा बिक्री गर्न नसकेका कारण उत्पादन बन्द गरेको जानकारी दिनुभएको छ । उहाँले अझै केही दिन उत्पादन नगर्ने उहाँले बताउनुभयो । उद्योगी सारडाले भन्नुभयो, “बजारमा माग नै छैन, विकास निर्माणको काम ठप्प छ । नयाँ घर बन्ने दर पनि घटेको छ । यस्तो समयमा उद्योगले उत्पादन जारी राख्न निकै चुनौती छ । त्यसैले केही समय उत्पादन रोकौँ भनेर बन्द गरेका हौँ ।” 

प्रिमियर स्टिल उद्योगले एक वर्षअगाडि मात्र बिलेटमा आधारित उद्योगलाई मेल्टिङ उद्योगमा परिणत गरेको थियो । सरकारले मेल्टिङ उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा भन्सार छुट दिने नीति लिएको थियो । बिलेट आयातमा पाँच प्रतिशत भन्सार र अन्तःशुल्क महसुल लिइरहेको सरकारले स्पन्ज आयात गर्दा एक प्रतिशत भन्सार महसुल र अन्तःशुल्कमा छुट दिने नीति लिएपछि करिब एक अर्ब लगानीमा स्थापना भएको उद्योगमा अरू एक अर्ब लगानी थपेर मेल्टिङ प्लान्ट जडान गरिएको थियो । दैनिक आठ मेट्रिक टन उत्पादन क्षमता भए पनि पाँच सय टन क्षमताको प्लान्ट मात्र सञ्चालनमा रहेको र क्षमताभन्दा करिब आधा मात्र उत्पादन गरिरहेको उद्योगले जनाएको छ ।

एक सातादेखि भने त्यो उत्पादनसमेत बन्द गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारबाट माग नै नआएपछि उत्पादन मात्र गरेर के गर्ने ? त्यसैले अहिले हामीले स्टकमा भएको वस्तु बिक्री गरिरहेका छौँ, केही दिन नयाँ उत्पादन गर्दैनौँ ।” सरकारले उद्योगमा दीर्घकालीन प्रभाव पर्ने गरी नीति बनाउने र त्यस्तो नीतिमा छिटो छिटो परिवर्तन गर्दा ठुलो समस्या हुने उहाँको भनाइ थियो । 

उहाँका अनुसार दुई वर्षपहिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिलेटमा आधारित उद्योगलाई मेल्टिङमा परिवर्तन गर्ने नीति लिनुभयो । राष्ट्रका लागि त्यो नीति गलत थिएन तर आजको भोलि नै उक्त नीति कार्यान्वयन हुनु पर्छ भनेपछि उद्योगीले विरोध गरे, पछि उद्योगी पनि राज्यको नीतिलाई स्वीकार गर्दै स्पन्ज मेल्टिङमा गए । आज देशभर १८ वटा यस्ता उद्योग स्थापना भइसकेका छन् । २५ वटा आइरन उद्योगमध्ये सात वटा उद्योगले कुनै हालतमा मेल्टिङमा जाँदैनौँ भनेर बसे ।

उद्योगी सारडा भन्नुहुन्छ, “दुई वर्ष बित्न नपाउँदै सरकारले फेरि मेल्टिङ उद्योगलाई निरुत्साहित गर्ने र पुरानै बिलेट उद्योगलाई प्रोत्साहन गर्ने गरी यसपालिको बजेटमार्फत नीति परिवर्तन ग¥यो । यसरी सरकारले लिने नीतिमा स्थायित्व नहुँदा र छिटोछिटो परिवर्तन गर्दा हामीले गरेको अर्बौं रुपियाँ लगानी जोखिममा परेको छ । बजारमा उत्पादन बिव्रmी भइरहेको छैन । विकास निर्माणमा सहजीकरण गर्न सरकारले ठेकेदारलाई भुक्तानी दिँदैन अनि त्यसको सोझो मार उद्योग, उद्योगी र उत्पादनमा परिरहेको छ । यही कारणले मात्रै हामीले उत्पादन स्थगन गरेको होइन तर यो पनि समस्याको एउटा कारण भने हो ।

विराटनगरस्थित बजरङ्ग स्टिल उद्योगका सञ्चालक रमेश राठीले आइरन उद्योगको अवस्था एकदमै नाजुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आइरन उद्योगले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । हामीले पनि क्षमता अनुसार उद्योग सञ्चालन गर्न सकेका छैनौँ । किनभने बजारमा डिमान्ड नै छैन । डिमान्ड नभएपछि उत्पादन मात्र गरेर भएन त्यसैले सबैले उत्पादन कटौती गरेका छौँ ।”

एकातिर फलाम उत्पादन गर्ने उद्योग धराशायी बनेका छन् भने माग कम हुँदा हुँदा मूल्य पनि घटिरहेको छ । अहिले उद्योगले भ्याटबाहेक प्रतिटन ७७ रुपियाँका दरले डन्डी बिक्री  गरिरहेको उद्योगी राठीले जानकारी दिनुभयो । उहाँले भारतमा भन्दा नेपालमा फलामे डन्डीको मूल्य निकै न्यून रहेको पनि बताउनुभयो । भारतबाट स्पन्ज र स्क्राइब ल्याएर प्रशोधन गर्दा पनि नेपाली मूल्य अझ सस्तो हुनुले यहाँको उद्योग र उत्पादनको अवस्था बुझ्न सकिने उहाँको भनाइ छ । 

सरकारले चालु वर्षको बजेटमार्फत विदेशबाट आयात हुने स्क्राइबमा दिएको शून्य भन्सारलाई परिवर्तन गरी एक प्रतिशत महसुल लिन थालेको छ भने स्पन्जमा पनि भन्सार महसुल एक प्रतिशतबाट बढाएर २.५ प्रतिशत पुर्याएको छ । यसले गर्दा स्पन्ज मेल्टिङमा आधारित उद्योगको अवस्था थप धराशायी बन्न पुगेको र बजारमा मन्दी आउँदा न्यून उत्पादन गरिरहेका उद्योगले पनि उत्पादन स्थगन गर्नुपर्ने अवस्था देखिएको हो ।