• ८ साउन २०८१, मङ्गलबार

विराटनगरलाई डुबानमा पार्ने नाला खोलिँदै

blog

शशिधर पराजुली

विराटनगर, साउन ८ गते  । दिउँसो २ बजेको चर्को घाम लाग्दा विराटनगरको सरदर तापव्रmम ३८ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रमको पर्वाह नगरी एक हुल युवा रबरको बुट लगाएर हातमा कोदालो र दाँते लिएर फोहोर नालीमा पस्छन् । नालाबाट निस्केको दुर्गन्धको उनीहरूले पर्वाह गरिरहेका छैनन् । केही दिनदेखि यसरी नै दूषित नालामा पसेर उनीहरू घण्टौँ काम गरिरहेका छन् ।   

विराटनगर–६ स्थित केसलिया सडकको दुवैतर्फको नाला जाम भएको वर्षौं भयो । नाला जाम हुँदा करिब चार किलोमिटर उत्तर बरगाछीदेखि बगेर आउने पानीले निकास पाइरहेको थिएन । ठुलो वर्षा हुँदा पानीको निकास नभएकै कारण विराटनगरको मुनालपथ, भृकुटी चोक, शिवमन्दिर चोकदेखि महेन्द्र चोकसम्मको भाग डुबानमा पथ्र्यो । केसलिया सडकनजिकै पोखरीको डिलमा रहेको मरिक बस्ती हरेक वर्ष डुबानको चपेटामा पथ्र्यो । असार तेस्रो साता परेको अविरल वर्षाले पनि विराटनगर नराम्ररी प्रभावित बनेको थियो । मरिक बस्ती त्यतिबेला पनि डुबेको थियो । 

त्यसैका कारण केसलिया सडकबाट बस्ता खोला र धुधुवा पैनीमा पानीको निकास बन्द भएको थियो । त्यसको पीडा हरेक वर्ष विराटनगरवासी र मरिक बस्तीले झेल्दै आइरहेको थियो । त्यही पीडाबाट मुक्त हुन केही दिनदेखि मरिक बस्तीका केही युवा नाला सफाइ गर्न आफैँ अग्रसर भए । विराटनगर महानगरपालिकाको वातावरण तथा सरसफाइ महाशाखाले केही सफाइ कर्मचारीलाई पनि त्यस काममा खटायो । अहिले धमाधम बन्द भएको नाला खोल्ने काम चलिरहेको छ ।

सोही सिलसिलामा केसलिया सडकमा पर्ने २५ वर्षदेखि थुनिएको कल्भर्ट पनि खोल्ने काम भएको छ । सो कल्भर्ट थुनिँदा उत्तरतर्फबाट बगेर आउने पानी दुई वटा नालामा विभाजित भएर पश्चिमतर्फ जान्थ्यो र हरेक वर्ष विराटनगरको एउटा भाग सधैँ डुबानमा पथ्र्यो । स्थानीय युवा कल्याण मरिकले भन्नुभयो, “मेरो उमेर ३२ वर्ष भयो मैले थाहा पाएदेखि नै यो कल्भर्टबाट पानीको निकास हुँदैनथ्यो र यो सफा गर्न कसैले पनि चासो देखाएका थिएनन् ।” 

कल्याण मरिकले भन्नुभयो, “कति जनप्रतिनिधि आए । शाखामा कति कर्मचारी फेरिए तर अहिले सरसफाइ शाखाले राम्रो काम गरिरहेको छ । उहाँहरूले हामीलाई समस्या बुझाउनुभयो त्यसैले हामी आफैँ नाला सफा गर्न अगाडि सरेका छौँ ।” कल्भर्टमुनि थुप्रिएको फोहोर सफा गर्न  १२/१४ जना युवालाई चार दिन लागेको थियो । उहाँले भन्नुयभो, “यहाँबाट पाँच टिप्पर फोहोर निकाल्यौँ, अब बल्ल पानी पास हुने अवस्था बन्यो तर यतिले मात्र पानीको निकास हुनेवाला छैन दुवै साइडको नाला साइफन भएको ठाउँसम्म यसै गरी सफा गर्नु पर्छ ।”

विराटनगर महानगरपालिकाले डुबानबाट जोगाउनका लागि योजनाबद्ध कार्यव्रmम बनाएको छैन । सरसफाइ शाखा आफ्नो बलबुताले व्रिmयाशील छ । महानगरको राजनीतिक नेतृत्व र उच्च तहको कर्मचारीबाट अपेक्षाकृत सहयोग पाएका छैनन् तर पनि पछिल्लो समय विराटनगरमा सरसफाइतर्फ निकै सुधार देखिएको छ । केसलिया सडकको नाला सफाइमा स्थानीय युवाको परिचालन त्यसको एउटा उदाहरण भएको स्थानीय व्यवसायी राजेश निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाला २०५४ सालपछि पहिलो पटक सफा गरियो, नालामा फोहोर भरिएको र कल्भर्ट जाम भएका कारण ठुलो पानी पर्नासाथ यो ठाउँ डुबानमा पर्दै आएको छ । यस पटक निकै राम्रो काम भयो ।” 

ठुलो समस्याका रूपमा रहेको केसलिया सडकखण्डको नाला सफाइमा महानगरपालिकाले एउटा जेसिबी र टिप्पर उपलब्ध गराएको छ । त्यसबाहेक सफाइका केही कर्मचारी खटाएको छ । त्यसमा महानगरलाई कुनै अतिरिक्त व्ययभार परेको छैन तर विगतमा यस्तै नाला सफा गर्ने नाममा महानगरले लाखौँ रुपियाँ खर्च गरेको थियो । 

सरसफाइ शाखाका प्रमुख पुनम दाहालले आधा विराटनगरलाई डुबानमा पारिरहेको केसलियाको नाला सफाइमा स्थानीय युवाबाट प्रशंसनीय काम भएको बताउनुभयो । यो नाला खुलेपछि यस क्षेत्रमा हुने डुबानको एउटा ठुलो समस्या घट्ने छ । अब विराटनगर बजार क्षेत्र पहिले जसरी हम्मेसी डुब्दैन ।”