• ७ साउन २०८१, सोमबार

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने : मन्त्री भट्टराई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

काठमाडौँ, साउन ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।

मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

“शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।”

नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले क्यानडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको समेत जानकारी दिनुभयो ।

यसैगरी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो  ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्नुहुँदै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो । उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिमको आयोजना गरेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।