• १३ साउन २०८१, आइतबार

सहकारी प्रकरण : स्थानीय तहसँग संसदीय छानबिन विशेष समितिको छलफल

blog

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्री ।

काठमाडौँ, साउन ७ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार सिंहदरबारमा बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग पनि छलफल गरेको बताउनुभयो ।

उहाँले समितिले बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव सुमन दाहाल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासचिव नरुलाल चौधरी, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका अध्यक्ष लक्ष्मी पाण्डे र महासचिव खिम थापा मगर, नगरपालिका महासङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटा र गाउँपालिका महासङ्घका अधिकारी प्रतिज्ञा न्यौपाने र गाउँपालिका महासङ्घका सल्लाहकार लेखनाथ पोखरेलसहितलाई बोलाएर छलफल गरेको बताउनुभयो ।

समितिका सभापति क्षेत्रीले देशभरका सहकारीको बारेमा जानकारी पाउनका लागि ७५३ वटै स्थानीय तह र ७ प्रदेशकै क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीको बारेमा विवरण सङ्कलनमार्फत पनि जानकारी लिने प्रक्रिया अघि बढाएको पनि बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति सहकारीको सामान्य मूल्य, मान्यताका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारी, विषयगत सहकारीलाई जोड गर्न सुझाव दिएको पनि बताउनुभयो । उहाँले कानुन बमोजिम सहकारी हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन व्यवस्थापन गर्न तयार रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहसँगको छलफल महत्त्वपूर्ण र फलदायी रहेको बताउनुभयो ।