• ७ साउन २०८१, सोमबार

महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन : सांसद कोइराला

blog

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइराला वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ७ गचे । नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोइरालाले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने जिकिर गर्नुभयो । उहाँले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरूकै अग्रणी भूमिकाका कारण आफूले चार पटक निर्वाचन जितेको बताउनुभयो ।

सांसद कोइरालाले भन्नुभयो, ‘‘महिलाहरूलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन । महिला नै महिलाको बिचमा म हुर्किएको हुँ । सानैदेखि फ्रक लगाएको हो । तीन वर्षसम्म फ्रक नै लगाएर बसेँ । म महिलाको समस्याहरू बुझ्छु । हुन त घरको साँचो महिलासँग मात्रै हुँदैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चार पटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभई कुनैपनि घरको ढोका खुल्दैन । त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ ।’’सांसद कोइरालाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो ।