• ७ साउन २०८१, सोमबार

स्मृति दिवसमा वृक्षरोपण

blog

४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार कमलामाई मन्दिर परिसरमा बृक्षरोपण गरिदै । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन ७ गते । नेकपा (एमाले) कमलामाई नगर कमिटी सिन्धुलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसमा सोमबार कमलामाई मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।

कमलामाई नगरपालिका –५ स्थित जिल्लाकै प्रसिद्ध कमलामाई मन्दिर परिसरमा चाँप, पारिजात, सिन्कौली, निम, अमला, बेल, चन्दन, आँप, अम्बा, लिची र विभिन्न फूलसहित २२५ वटा बिरुवा रोपिएको नगर कमिटी सचिव कैलाश ढुङ्गेलले बताउनुभयो ।

उक्त वृक्षरोपण कार्यको शुभारम्भ गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य कमलजङ्ग राईले पुष्पलाल वर्ग सङ्घर्षप्रति विश्वास गर्ने व्यक्तित्व भएको चर्चा गर्नु हुँदै जातीय आन्दोलन विरोधी रहेको बताउनुभयो ।

पुष्पलाल स्थापना गरेको कम्युनिष्ट पार्टीकै जगमा अहिले नेपाली जनताले राजनीतिक अधिकार प्राप्त गरे पनि अझ सामाजिक अधिकार, आर्थिक अधिकार, नागरिक अधिकार प्राप्त गर्न सबै मिलेर लाग्नु पर्ने उहाँको भनाइ छ । 

कमलामाई नगर कमिटी अध्यक्ष सुन्दर तामाङको अध्यक्षतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष तथा पदाधिकारी, सदस्यहरू लगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

एमाले सिन्धुली जिल्ला कमिटीले पनि पार्टी कार्यालयमा पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।