• ७ साउन २०८१, सोमबार

पुष्पलालको विचारले कांग्रेस र एमाले एक ठाउँमा

blog

गोष्ठीमा सहभागीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन ७ गते । नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर्भिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको वक्ताहरुले बताउनुभएको छ ।

मुलुकमा राजनीतिक सङ्कट परेका बेला कांग्रेस र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने विचार नै पुष्पलालको विचार भएको उहाँहरुको भनाइ छ । ४६ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले म्याग्दीले सोमबार बिहान बेनीमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताले हालको राजीतिक परिस्थितिमा पुष्पलालका विचार उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । 

उहाँहरुले मुलुक अहिले पनि पुष्पलालको विचारबाट अघि बढेको उहाँहरुको भनाइ छ । तत्कालीन राणाशासन र पञ्चायती शासन व्यवस्थाका विरुद्ध कांग्रेस र वामपन्थी शक्तिहरु मिलेर जानुपर्दछ भन्ने पुष्पलालको विचारले अहिले पनि महत्व पाएको कार्यक्रमका वक्ताहरुले चर्चा गर्नुभयो ।   

नेकपा (एमाले) का केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले तानाशाही शासन व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिलाई एकआपसमा मिलाएर उहाँले आन्दोलनको सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो । 

प्रजातान्त्रिक शक्ति कांग्रेस र एमालेलगायत वामपन्थी शक्तिहरुको सहकार्यबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै उहाँले अहिले पनि पुष्पलालका विचारले वर्तमान राजनीतिक नेतृत्व गरेको भनाइ राख्नुभयो । 

गोष्ठीमा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र जिल्ला अध्यक्ष बालकृष्ण सु्वेदीले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानका चर्चा गर्नुभयो ।