• ७ साउन २०८१, सोमबार

अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

blog

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन

वासिङ्टन (संयुक्त राज्य अमेरिका), साउन ७ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा  बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यFवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ ।

“मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भए तापनि, मेरो बाँकी कार्यकालका लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्न मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो ।

उहाँले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताउनुभयो ।

अर्को पोस्टमा, उहाँले भन्नुभएको छ, “यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”

वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

अब अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा हुने सम्भावना छ ।

यद्यपि, डेमोक्र्याटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ ।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उहाँको आलोचना भएको थियो ।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभएको छ । उहाँले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताउनुभयो । रासस/एपी