• ७ साउन २०८१, सोमबार

नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने

blog

सिराज खान 

नेपालगन्ज, साउन ७ गते । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो । 

दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ । 

नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा. खुमाप्रसाद अर्यालले नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइएको बताउनुभयो ।  

उहाँले मुख खानेकुराको प्रवेशद्वार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्ने हुँदा सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेकोले बीडीएसप्रति आकर्षण बढेकोले बिडिएसको अध्ययन सुरु गरिएको बताउनुभयो । 

नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि सो का लागि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा कमी आएकोले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौँ रुपियाँ जोगिएको अध्यक्ष अर्यालको भनाइ छ । 

सोही क्रममा दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले हालै सो अस्पतालको उद्घाटन गर्नुभएको थियो । 

उक्त डेन्टल अस्पतालमा ५० वटा डेन्टल चेयर राखेर बिरामीको उपचार सुरु गरिएको शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ प्रशासन अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । 

उहाँले हालका लागि हरेक वर्ष ४० जना विद्यार्थीलाई बिडिएसमा भर्ना गर्ने गरी तयारी गरिएको जनाउँदै आवश्यकता अनुसार कोटा थप गर्दै जाने पनि बताउनुभयो । 

सो मेडिकल कलेजले हाल एमबिबिएसमा हरेक वर्ष सय जना विद्यार्थीलाई भर्ना गर्दै आएको छ भने कोहलपुर र नेपालगन्जमा ठुला शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ ।