• ७ साउन २०८१, सोमबार

चार वर्षमा सवारी दुर्घटनामा ११५ को मृत्यु

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन ७ गते । सिन्धुली जिल्लामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनाबाट एक सय १५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७-०७८ देखि ०८०-०८१ सम्म जिल्लाका विभिन्न ठाउँमा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सो अवधिमा एक हजार ५८२ जना सवारी दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

कार्यालयका अनुसार सो अवधिमा सबैभन्दा बढी सवारी चालकको लापरवाहीले सवारी दुर्घटना भएको पाइएको छ । त्यसपछि सवारी साधन, पैदल यात्री, सडकको अवस्था र पशु चौपायाका कारण सवारी दुर्घटना भएको पाइएको छ । 

गत आर्थिक वर्ष ०८०-०८१ मा एक सय ७४ वटा सवारी दुर्घटना हुँदा २५ जनाको मृत्यु हुनुका साथै तीन सय ९३ जना घाइते भएको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

सवारी दुर्घटना गत आर्थिक वर्ष ०७७-०७८ मा दुई सय १९ वटा हुँदा ३६ जना, ०७८-०७९ मा ४६ वटा हुँदा ४५ जना र ०७९-०८० मा एक सय पाँच वटा हुँदा नौ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । त्यस्तै सवारी दुर्घटनाबाट घाइते पनि गत आर्थिक वर्ष ०७७-०७८ मा चार सय ३७ जना, ०७८-०७९ मा पाँच सय ४४ जना, र ०७९-०८० मा दुई सय आठ जना भएका छन् ।

सोही अवधिमा सवारी दुर्घटनासम्बन्धी ८० वटा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।