• ६ साउन २०८१, आइतबार

महिला राजनीतिज्ञहरूको टोली चीनबाट स्वदेश फिर्ता

blog

चीन भ्रमणमा गएका महिला सांसदहरुको टोली ।

काठमाडौँ, साउन ६ गते । अखिल चीन महिला महासङ्घ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएको छ ।

‘दक्षिण एसियाली महिला राजनीतिक नेतृत्वसम्बन्धि सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरू सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका हुन् । सांसदहरूले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेटसमेत गरेका छन् । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आउनुभएको थियो । नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसंग संयुक्त भेट गरेको हो ।

भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैङ्गिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने बताउनु भएको थियो । लुओले कोभिड-१९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले बिस्तारै सबै कुरा लयमा आएको बताउनुभयो । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईँले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न छ वर्ष बाँकी छ । यो धेरै महत्त्वपूर्ण विषय हो । जुन हामीले गर्नै पर्नेछ ।’


त्यस अवसरमा माल्दिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा ५२ प्रतिशत महिलाको जनसङ्ख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताउनुभयो ।  समस्या कहाँ छ ? के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेनन् भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री उहाँले बताउनुभयो । 

त्यस्तै, श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सितालगायतले धारणा राख्नुभएको थियो । नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गर्नुभएकी सांसद सुशीला श्रेष्ठले राजनीतिकरुपमा नेपालमा महिलाका लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताउनुभयो । तर अझै पनि मूल नेतृत्वमा महिलाको सहभागिता बढाउने काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । 

नेपाललगायत श्रीलङ्का, मालदिभ्स र पाकिस्तानका महिला मन्त्री तथा सांसदहरूले सेमिनारमा सहभागिता जनाएका छन् । महिला सांसदहरू बेइजिङमा आयोजित ‘ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठक’मा पनि सहभागी भएका छन् । यो अर्को एउटा उच्चस्तरीय बैठक हो । उक्त बैठकको उद्घाटन समारोहमा मन्त्री तथा सांसदहरू सहभागी भएका हुन् । उक्त बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गर्नुभएको थियो । 

असार २४ गते ११ जनाको टोली काठमाडौँबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो । टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, विनीताकुमारी सिंह र कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको उक्त भ्रमणमा मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र स.नि.देवीका घर्ती मगरसमेत सहभागी हुनुहुन्थ्यो । 


उक्त भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय चीन, अखिल चीन महिला महासङ्घ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको पार्टी स्कुलसँग भेटघाट गरी महिला राजनीतिज्ञको नेतृत्वमा सहभागिता, महिला तथा बालबालिकाको समग्र अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको थियो । टोलीले चीनको राजधानी बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सङ्ग्रहालय, महिला विश्वविद्यालय चीन, चिनियाँ राष्ट्रिय महिला तथा बालबालिका सङ्ग्रहालय, ग्रेट वाललगायतको अध्ययन र अवलोकन गरेको थियो । 

टोलीले बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको विशेष आमन्त्रणमा नेपाली राजदूतावासमा भेटघाट गरी भ्रमणका सन्दर्भमा छलफलसमेत गरेको थियो । जुलाई १४ मा भ्रमण टोली जियाङ्सु प्रान्तस्थित नानजिङ सहर प्रस्थान गरेको थियो । नानजिङ सहरमा भ्रमण टोलीले पुकोउ जिल्लास्थित बुलाओ गाउँमा रहेको महिला उद्यमशीलताको अध्ययन अवलोकन गरी जिनाऐ जिल्लामा अवस्थित महिला र बालबालिकाको अधिकार संरक्षण सेवा केन्द्रको अवलोकन गरेको हो । 

जहाँ विवाह र पारिवारिक घटनाका सन्दर्भमा कसरी काउन्शिलिङ सेवा प्रदान गरिँदै आएको छ भन्ने विषयमा विस्तृतरुपमा देखाइएको छ । त्यस्तै, महिला महासङ्घको मानव संसाधन सेवा औद्योगिक पार्कको कार्यशाला भ्रमण गरिएको थियो । भने त्घ गो नानजिङ चालक महिला महासङ्घको अध्ययन अवलोकन गरी टोलीले नानजिङ सहर मै अवस्थित मेइयुआन न्यु भिलेज मेमोरियल हलको भ्रमण, देङ यिङचाओको जन्मको १२०औँ वार्षिकोत्सव, मेइयुआन नयाँ गाउँ मेमोरियल हलमा महिला महासङ्घको विशेष प्रदर्शनीसमेत अध्ययन अवलोकन गरेको छ । 


टोलीले नान्जिङ महिला र बालबालिकाको स्वास्थ्य सेवा अस्पतालको विशेष भ्रमण गरेर त्यहाँको महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था, अस्पतालबाट दिने स्वास्थ्य सेवा, अस्पतालको नेतृत्व तहमा महिलाको भूमिकालगायतको विषयमा अध्ययन गरेको थियो । जुलाई १५ मै भ्रमण टोली नान्जिङ शहरदेखि सुजोउ सहर पुगेर त्यहाँको परम्पराको अवलोकन गरेको थियो । 

सुजोउ सहरमा सुजोउ सङ्ग्रहालय, छैटौँ समुदाय, सामुदायिक पारिवारिक शिक्षा, सुजोउ औद्योगिक पार्क प्रदर्शनी केन्द्र, झाओजियास्थित बाल मैत्री ब्लकमा बालमैत्री सिकाई, सुझौँ आर्टिफिसियल इन्टेलिजेन्स औद्योगिक पार्कको अध्ययन अवलोकन गरी करिब १०-११ दिनको भ्रमण पुरा गरी टोली स्वदेश फिर्ता भएको हो ।