• ६ साउन २०८१, आइतबार

बंगलादेशबाट नेपाली फिर्ता ल्याउने वातावरण बनाउन कांग्रेसको आग्रह

blog

संसद भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक ।

काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आइतबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो । उहाँले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको गर्नुभयो ।

प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नागरिक समेत प्रभावित भई स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भएको छ । केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारमा समवेदना प्रकट गर्दै उचित राहतको व्यवस्था गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गर्दछौँ ।’’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरूलाई निर्देशन दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नवगठित सरकारका मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।