• १५ चैत २०८०, बिहिबार

गठबन्धनतर्फ १९० निर्विरोध

काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो । 

निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । 


स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए । निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताउनुभयो । 

स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । आयोगले उक्त कार्यक्रम बितेको चार दिनपछि मात्रै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आयोगका अनुसार २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिइएको हो । वैशाख १५ गते काठमाडौँस्थित एक कलेजमा प्रमुख पदका उम्मेदवारहरूले युवासँग गरेको अन्तत्र्रिmयामा स्थापितले दिनुुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

उक्त कार्यक्रममा स्थापितले दिएको अभिव्यक्ति उम्मेदवारले पालना गर्नुपर्ने आचरण अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो । स्थापितको अभिव्यक्तिसँग सम्बन्धित विषयमा आयोगले महिला पुनस्र्थापना केन्द्र (ओरेक)लाई समेत स्पष्टीकरण सोधेको छ । ओरेकसहित महिला अधिकारमा काम गर्दै आएका सङ्घसंस्थाले स्थापितको अभिव्यक्तिलाई लिएर उम्मेदवारी रद्द गर्नुपर्ने माग गरेका थिए । स्थापितले आइतबारसमेत एक कार्यक्रममा सोही पदका अर्का प्रत्यासीबारे नकारात्मक टिप्पणी गर्नुभएको थियो ।