• ५ साउन २०८१, शनिबार

दोलखाको भजन संस्कृति

blog

दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है” भनेँ । भतिजा रोशनले “यतिखेर अँध्यारोमा कता जाने भन्नुभएको” भनेर सोध्यो । मेरो मुखबाट अनायास नै निस्कियो, “यहाँको नाइट क्लब जान लागेको ।” केही क्षणअघिदेखि नै भजनको बाजा 

‘खीं’ को आवाज मेरो कानमा  परिरहेको थियो र म त्यहाँ पुग्न हतारिएको थिएँ । हो, दोलखामा उसबेला रेडियो, टिभी नहुँदा परम्परागत भजनस्थल एक किसिमले नाइट क्लब जस्तै नै थियो जहाँ दिनभरि खेतबारीमा काम गरेर आएकाहरू सुस्ताउँथे । एकअर्कासँग भेट गरेर दुःखकष्ट बिर्सन्थे र भरपुर मनोरञ्जन गर्थे, जान्नेले आफैँ गाएर र नजान्नेले भजन सुनेर । नत्र त उसबेला खेतीकिसानी जीवन, दिनभरि थाकेर आएको र भोलिपल्ट बिहानै फेरि खेतबारी लाग्नुपर्ने, महँगो मटीतेलको बत्ती बाल्नुपर्ने भएकाले बेलुका ८ बजेपछि त कुनै कुनै घरमा मात्र धिपधिपे मधुरो बत्ती बलेको देखिन्थ्यो ।     

काठमाडौँ उपत्यकामा जस्तै विशुद्ध नेवारको सहर दोलखामा पनि दाफा भजन दोलखाली संस्कृतिको एक अभिन्न अङ्ग हो । दाफा भजन भनेको नेवारहरूले गाउने धार्मिक कथामा आधारित धार्मिक भक्तिभावपूर्ण राग र तालमा आधारित भक्ति सङ्गीत हो । परम्परागत अर्थात् दाफा भजन शास्त्रीय भजनकै एक रूप हो । भक्तिपूर्ण भजन गाउने गायकको समूहलाई नेवारीमा दाफा खलक भनिन्छ । दाफा भजनलाई नेपालको सबभन्दा पुरानो र हालसम्म जीवित भक्ति सङ्गीत मानिन्छ । अतः भजन गाउनुको मुख्य उद्देश्य भगवान्प्रति भक्ति प्रदर्शन गर्नु हो । नियमित भजन साँझ परेपछि गाउने गरिए पनि फुटकर भजन भने दिउँसो पनि गाउने गरिन्छ । 

परम्परागत भजनको आरम्भ 

संस्कृतिविद्हरूले दाफा भजन १७ औँ शताब्दीतिर आरम्भ भएको अनुमान गरेका छन् । १७ औँ शताब्दीमा काठमाडौँमा भक्तिभावपूर्ण गीत, भजन, नृत्य र  नाटकको उद्गम भएको थियो र तत्कालीन राजाहरूको संरक्षणले गर्दा १८ औँ शताब्दीमा भजनको थप विस्तार भएको थियो । टोल टोलमा अनौपचारिक दाफा खलक भनिने भजनमण्डली हुन्छन् । मलाई स्मरण भए अनुसार माथिल्लो टोल, डवाकुलुङा  टोल, दुङ्गल टोल र तल्लो टोलको बेलाबेग्लै भजन मण्डली हुन्थे । माथिल्लो टोलमा पुरान्छें टोलको भवानीशङ्कर श्रेष्ठ भजन गाउन नामी मानिन्थे । डवाकुलुङा टोलमा भजन गाउन र ‘खीं’ बजाउनमा समेत भैरमान जोशी, उहाँकै छोरा शुद्ध जोशी, काजीलाल जोशी, नारायणबहादुर जोशी र उहाँका दुई छोरा विष्णुबहादुर जोशी र प्रेमनारायण जोशी सिपालु हुनुहुन्थ्यो । त्यस्तै पिङ्गल टोलका गौरीमान जोशी र बगर्छें टोलका इन्द्रबहादुर श्रेष्ठ भजन गाउन नामुद हुनुहुन्थ्यो । रजस्वला हुने भएको र सात दिनसम्म अशुद्ध र देवता छुन नहुने मान्यता भएकाले महिलाले भने भजन गाउने परम्परा छैन ।

आवश्यक सामग्री 

दाफा भजन गाउनका लागि ‘खीं’, ताल, बौल या छिलिमिली आदि पुराना किसिमका बाजा प्रयोग गरिन्छ । आधुनिक खाले भजन गाउनका लागि भने हार्मोनियम, तबला, ताल, छिलिमिली आदि बाजा प्रयोग गरिन्छ । त्यसैले भीमेश्वरको पाटीमा र माघ महिनामा माधव गाउँदा हार्मोनियम र तबला बजाएर आधुनिक भजन गाउने गरिन्छ । तुलसीविवाहको बेला तुलसी मठमा भजन गर्दा र कसैको घरमा नारायण पूजा, जन्मदिन आदिको बेला भजन गर्दा भजन सकिन लाग्दा जोसले चर्काे स्वरले गाउँछन् र यही बेला वातावरण अझै रमाइलो र सनसनीपूर्ण बनाएर बुक्सेल भनिने बाजा पनि बजाउँछन् । भजन गर्नका लागि भजनको दोलखाली नेवारीमा साँफुर भनिने हस्तलिखित भजन सङ्ग्रहको पुस्तक नै हुन्छ । यी पुस्तक जीर्ण भएकाले टोलवासीले पुनः लेखेर राख्ने गरेका छन् । विभिन्न भजन विभिन्न लयमा गाउने गरिन्छ जुन लिखित नभएर गाउँदागाउँदै पुस्तान्तरण भएर आएको देखिन्छ । गीत गाउनेले नै बाजा पनि बजाउने भएकाले भजन गर्नका लागि यति नै सङ्ख्यामा मानिस चाहिन्छ भन्ने छैन तर पनि न्यूनतम चार/पाँच जना भने चाहिन्छ । दाफा खलकबाहेक अरूले पनि साँफुर हेरेर भजन गाउन सक्छन् ।  भजन सुरु भएदेखि समाप्त हुने बेलासम्मको खास विधि हुन्छ । दाफाको गायनशैली शास्त्रीय रागमा आधारित मानिन्छ । दक्षिण एसियाली शास्त्रीय सङ्गीतमा जस्तै दाफामा पनि समय समयका लागि गीत छुट्याइएका हुन्छन् । महिना, पर्व र ऋतु अनुसारका छुट्टाछुट्टै गीत हुन्छन् । बेला बेलामा राधाकृष्ण प्रणय लीला झ्याउरे लयको भजन पनि गाउँछन् । नियमित भजन पाटी र डोबरहरूमा (डबली) गाउने गरिन्छ । 


भजनका अनिवार्य पालना गर्नुपर्ने केही नियम पनि हुन्छ । दोलखाका संस्कृतिकर्मी तुलसीनारायण जोशीका अनुसार कुनै कुनै भजन गाउन थालेपछि बिचमा कोही उठ्न हँुदैन, जस्तै श्रीकृष्णको भजन, गोला भजन, महादेवको भजन, मङ्गल पञ्चम आदि गाउँदा राग लिएपछि कोही पनि उठ्न हुँदैन । उठेमा उसले जरिबाना तिर्नु पर्छ । केही भजन गाउन प्रारम्भ गर्नुअघि पहिला दुई/तीन जनाले शास्त्रीय राग लिने चलन  छ । परम्परा अनुसार राग लिन चाहने व्यक्तिले नाच र गानको देवता नाट्यश्वरको पूजाआजा गरेर स्वीकृति लिनु अनिवार्य छ । भजन सुरु हुनुअघि राग लिनाले कस्तो खाले भजन गाउन लागेको हो भन्ने सङ्केत गर्छ । राग लिइसकेपछि एकले अर्का मान्यजनलाई ‘स्याउदाइ’ भनेर ढोग्छन् र भजन सुरु गर्छन् । त्यस्तै मङ्गल भजन, ठुलो आरती भजन गर्दा र भजन समाप्तिपछि पनि आफूभन्दा ठुलालाई ‘स्याउदाइ’ भनेर ढोग्छन् र त्यो दिनको भजन समाप्त हुन्छ । भजनको साँफुरमा गीतहरू व्रmमसँग मिलाएर राखिएको हुन्छ । त्यसैले एक पटक गाइसकेको गीत कसैले जतिसुकै धेरै पैसा चढाएर पुनः गाउन अनुरोध गरेमा पनि क्रम भङ्ग गरेर दोहो-याएर गाउँदैनन् । 

दाफा भजनको एउटा रोचक पक्ष यो छ कि केही भजन गाउने बेला गायकहरू दुई समूहमा विभाजित हुन्छ र जुहारी खेले जस्तो भजन गाउँछन् । त्यसबेला प्रतिस्पर्धा चलिरहेको जस्तो एक समूहले भन्दा अर्काे समूहले अझ चर्काे र जोसिलो किसिमले गाउने गर्छ । दोलखाका संस्कृतिकर्मी जोशीका अनुसार केही भजन गाउन स्थानीय भाषामा जौला र खौला भनिने दुई समूहको व्यवस्था हुन्छ । दुई टोलको मानिस सम्मिलित भएर गाउँदा डवाकुलुङा टोल जौला र माथिल्लो टोल खौलामा विभाजित हुन्छन् ।  डवाकुलुङा टोलका समूहमा मानिस कम भयो भने माथिल्लो टोलको समूहबाट निकालेर दिन्छन् । त्यसपछि दुई समूह भएर भजन गाउँछन् । भीमा एकादशी जस्ता धार्मिक मेलामा जुहारी वा पश्चिमतिर दोहोरी खेले जस्तो तर जुहारी र भजनबिच बिलकुलै भिन्नता छ । जुहारी र दोहोरी महिला र पुरुषबिच हुन्छ र एक पक्षले गाएको गीतको बोलको अर्काे पक्षले जवाफ दिने गर्छ, स्वरको स्तर स्थिर राखेर । भजनमा भने दुवै समूहमा पुरुष मात्र हुन्छ र दुवै समूहले एउटै बोलको गीत गाउँछन् तर एक समूहले भन्दा अर्काे समूहले चर्काे स्वरले गाउँछन् । डवाकुलुङा टोलको मात्र दाफाले भजन गर्न लागेको बेला पनि परम्परा अनुसार जौला र खौला दुई समूहमा विभाजित भएर भजन गाउँछन् । 

भजनको प्रसाद

भजनको विशेषता यो छ कि भजन गाएको बेला टोलवासीले मकै, भटमास, चङ्गे, बदाम, फलफूल, रोटी  आदिको  छुसेमुसे (प्रसाद) अनिवार्य रूपमा राखेका हुन्छन् । यो प्रसाद भजन सकिएपछि भगवान्लाई चढाएर गायक र श्रोत्ता सबैले बाँडेर खान्छन् । उसबेला चियाको चलन नभएकाले भजन गाउने बेला कसैले रक्सी खुवाएर र टोलका महिलाले अमिलो साँधेको खुवाएर गायकलाई पुनर्ताजगी गराउने गर्थे । दोलखामा नियमित भजन कुनै मन्दिर, डोबर (मण्डप) वा पाटीमा गाउने गरिन्छ तर कसैको जन्मदिनमा वा कसैको घरमा नारायण पूजा हुँदा घरमै दाफा खलकलाई बोलाएर गाउन लगाइन्छ । त्यस्तो बेला आयोजकले टन्न छुसेमुसेलगायत फलफूल, रोटी आदि राख्नुका अतिरिक्त नेवारहरूको आफ्नो चलन अनुसार गायकलाई रक्सीसमेत खुवाउने गर्छन् । भजन सुन्न आउने नवागन्तुक छ भने उसले आफूखुसी रुपियाँ चढाएर वा त्यतिकै पनि आफ्नो मन परेको गीत गाउन अनुरोध गर्ने चलन छ र त्यो सहर्ष स्वीकार गर्छन् । चढाएको रुपियाँले गायकले रक्सी किनेर पिएर रमाइलो गर्छन् । 

चाडपर्वमा भजन

दोलखामा दैनिक गरिने नियमित भजनबाहेक चाडपर्वमा पनि भजन गाउने परम्परा छ । जस्तै दसैँको खड्ग जात्रामा दुङ्गलको नाश्वर (नाट्यश्वर मन्दिर) देखि मालश्री भजन गाएर खड्ग जात्राका कलाकार ‘खाँडो’ लाई नचाउने चलन छ । त्यस्तै बुग्देउ डवाकुलुङास्थित मन्दिरमा भिœयाउने बेला र स्वस्थानी सकेको दिन वाराणसीदेखि सहस्रधारा सहर परिव्रmमा गराउँदा सबै टोलका दाफा खलक मिलेर भजन गाउने चलन छ । हिलेजात्रामा कालिञ्चोक गएको धापा खलकहरू फर्किंदा पाखलतीदेखि दाफा खलकले  भजन गाउन थाल्छ र सँगसँगै सहर परिव्रmमा गर्छ । कात्तिकको हरिबोधिनी एकादशीमा तल्लो टोल, माथिल्लो टोल र डवाकुलुङा टोलका दाफा खलकहरूले आआफ्ना टोलभित्रका स्थानीय भाषामा ‘तुरसी’ भनिने तुलसीको मठमा गएर भजन गाउने गर्छन् ।  संस्कृतिकर्मी जोशीका अनुसार विगतमा भजनहरू मूलतः नेवारी भाषा र केही नेपाली भाषामा भए पनि पछि  द्वाल्खा भाषाका भजन पनि थपिएका छन् । केही भजन कान्तिपुरका मल्ल राजाहरू महिन्द्र मल्ल, प्रताप मल्ल, जयस्थिति मल्ल आदिसँग सम्बन्धित छन् । यसले कान्तिपुरमा भजनको प्रचलन भएदेखि नै दोलखामा पनि भजनको आरम्भ भएको सङ्केत गर्छ ।  

हुन त दोलखामा भजन बाह्रै महिना गाउने गरिन्छ तर पाटी तथा मण्डपमा गरिने नियमित भजन हरिशयनी एकादशीदेखि सुरु भएर हरिबोधिनी एकादशीसम्म चतुर्मास चार महिना गाएपछि त्यो वर्षको भजन समाप्त हुन्छ । त्यसपछि पनि फुटकर भजन भने भइरहन्छ, जस्तै कुनै टोलको तुलसी मठमा, कसैको घरमा सत्यनारायण पूजाको बेला, कसैको जन्मदिन वा कसैको कुनै खुसियालीको दिन आदिमा भजन गाइदिन अनुरोध भएमा गाउने चलन छ । अहिले दोलखा सहरको संस्कृतिको अभिन्न अङ्ग दाफा भजन  लोपोन्मुख स्थितिमा छ ।