• ४ साउन २०८१, शुक्रबार

उपत्यकामा पोलियो विरुद्धको खोप अभियान

मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटियो

blog

ढलको नमूना संकलन गरेको क्षेत्र ।

काठमाडौँ, साउन ४ गते। नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ ।

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रयोगशाला परीक्षणको नतिजा अनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ।

 उहाँ भन्नुहुन्छ, “वातावरणीय निगरानीको क्रममा हालै काठमाडौंको टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको छ ।” 

उहाँका अनुसार टेकु दोवानबाट संकलन गिरिएको नमूना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको जानकारी दिनुभयो। 

नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन।विश्व स्वास्थ्य संगठनले १० वर्ष अघिनै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ।


 पोलियो खोप विरुद्धको अभियान

डा. गौतमले उपत्यकाका (काठमाडौं, ललितपुर भक्तपुर) को आउने नदीको संगममा पोलियो जीवाणु भेटिएसँगै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उपत्यकामा आगामी साउन ९ देखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने डा. गौतमले जानकारी दिनुभयो।

जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउने उहाँको भनाइ छ।उहाँका अनुसार खोप स्वास्थ्यकर्मी र महिला समुदायिक स्वास्थ्य स्वंसेविका मार्फत घर घरमा दिइने उहाँले प्रष्ट पार्नुभयो।

सरकारले प्रयोग गर्ने खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित भएको र नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागमा दर्ता गरिको हुँदा खोप ढुक्कासँग लगाउन डा. गौतमको आग्रह छ।

पोलियो कस्तो रोग हो ?

डा. गौतमका अनुसार पोलियो भाइरसबाट हुने संक्रमक रोग हो।पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महशुस हुने जस्ता लक्षण देखिने डा. गौतम बताउनुहुन्छ। यदि रोगका गम्भीर लक्षण देखिएमा पक्षघातदेखि मृत्यु हुने उहाँको भनाइ छ।

उहाँका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्ययबाट एक व्यक्तिबाट अर्को व्यक्तिमामा सर्ने गर्छ।पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने उहाँ बताउनुहुन्छ।तर, पाँच वर्ष मुनिका बालबालिका बढी पोलियो रोगको जोखिममा हुन्छन्। 

डा. गौतम यो रोगको हालसम्म कुनै निश्चित उपचार नभएको बताउनुहुन्छ।उहाँ भन्नुहुन्छ, “यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन।यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप हो ।” 

 सरकारले पोलियोबाट बचाउन बालबालिकालाई राष्ट्रिय खोप तालिका मार्फत पोलियो विरुद्धको खोप नियमित रुपमा दिँदै आएको छ।यो रोगबाट बच्न व्यक्तिगत सरसफाइमा, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन चिकित्सको सुझाव छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।