• ४ साउन २०८१, शुक्रबार

सात महिनापछि विद्युत सुचारु

blog

सात महिनापछि पुन सञ्चालनमा आएकाे इकडीगाड लघुजलविद्युत । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, साउन ४ गते । बाजुराको बुढीगङ्गा नगरपालिका ९ र १० स्थित इकडिगाड लघुजलविद्युत पुन सञ्चालनमा आएको छ । अविरल वर्षातका कारण सो विद्युतको नहर भत्किएपछि झण्डै सात महिनासम्म अवरुद्ध भएको थियो ।

सो विद्युतको मुहानमा रहेको नहर मर्मत गरेसँगै विद्युत पुन सञ्चालनमा आएको इकडीगाड लघुजलविद्यतु परियोजनाका अध्यक्ष प्रेम रावतले बताउनुभयो।

उहाँले भन्नुभयो, “गत वर्षको अविरल वर्षातका कारण मैरेखोलामा रहेको विद्युतको नहर भत्किएपछि सात महिनासम्म विद्युत अवरुद्ध भएको हो ।”

केन्द्रीय नविकरणीय उर्जा कोष, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ग्रामीण जीविकोपार्जनका लागि नविकरणीय उर्जा, कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा रिरस आयोजना कार्यक्रमको नब्बे प्रतिशत र बुढीगङ्गा नगरपालिकाको दश प्रतिशत्मा गरी झण्डै ४६ लाख रुपियाँमा नहर तथा इकडीगाडबाट क्रसिङ्ग क्यानल निर्माण गरेछि विद्युत पुन सञ्चालनमा आएको अध्यक्ष रावतले बताउनुभयो ।

२०५८ सालदेखि यस इकडीगाडमा लगातार श्रमदान गर्दै आएका छौं । तै पनि कहिले बत्ती बल्छ कहिले बल्दैन । यतीबेला भने संस्थाको आर्थिक सहयोगमा काम निर्माण भएको अब भने लामो समयसम्म बत्ती आउने आशमा रहेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मन सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाहेको बेला बत्ती हुँदैन । राती एक पटक बत्ती आउँथ्यो । त्यो पनि खोलामा पानीको बहाव बढेपछि गइहाल्थ्यो ।”

यस विद्युतको नहरको मुहानमा अविरल वर्षातका कारण भत्काइएको नहरलाई राम्रोसँग मर्मत गरेपछि पहिलेको त्यो समस्या हटेको स्थानीय सार्कीले बताउनुभयो ।

इकडीगाड पहिलो लघु जलविद्युत् आयोजनाको सिभिल संरचना र इलेक्ट्रोमेकनिकल सामानको मर्मत सम्पन्न भएपश्चात लामो समय देखि जीर्ण अवस्थामा रहेको विद्युत राम्रोसँग सुचारु भएको प्राविधिक रमेश धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्युत पुन सुचारु भएपछि आयोजनाको संस्थागत विकासका गतिविधिहरु समेत सञ्चालन भइरहेका छन् भने प्रत्येक घरधुरीमा मिटर जडान गरी कम्प्युटर सफटवेयरमार्फत् विद्युत विलिङ सञ्चालनमा गर्नुका साथै विद्युत् उपयोग गरी जीविकोपार्जनका क्रियाकलापहरू सञ्चालन गरिएका छन् ।”

आयोजनाको करिब ४ सय मिटर नहर, डीसेल्टिङ, इन्टेक, खोला क्रसिङ र पावर हाउसमा मर्मत सम्पन्न गरी नियमित ३५२ घरधुरीमा विद्युत् सेवा प्रवाह भएपछि सोलालाका स्थानीयलाई वर्खाको समय अन्धकारमा बस्नु पर्ने विगतको समस्या हटेको प्राविधिक धामीले बताउनुयो । 

२०६४ सालमै सुचारु भएको यो इकडीगाड लघुजलविद्युतको राम्रो नहर नभएको र त्यो पनि अविरल वर्षातका कारण पटक पटक भत्किने गरेकोले यहाँका स्थानीय वर्खाको टुकीको भरमा रात काट्ने गरेका थिए । अहिले केन्द्रीय नविकरणीय उर्जा कोष, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ग्रामीण जीविकोपार्जनका लागि नविकरणीय उर्जा, कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा रिरस आयोजनाले यो विद्युत दीर्घकालिन रुपमा सञ्चालन हुनेगरी काम गरेको छ ।

श्रमदान गर्दै दिक्क भएका यहाँका स्थानीयले भने अहिले काम सँगै दाम पनि पाएका छन् । परियोजनाले नहरको काम सुरुगरेसँगै यती बेला यहाँका १३५ जना महिलाले ५ हजार देखि ४५ हजार सम्म आम्दानी गरेका छन् ।

यो योजनामा काम गर्ने यहाँका उपभोक्ताहरुले भने बत्तीसँगै झण्डै ३२ लाख आम्दानी समेत गरेको प्राविधिक धामीले बताउनुभयो ।