• ४ साउन २०८१, शुक्रबार

२१ वर्षपछि इलाका प्रशासन कार्यालय पुन:स्थापना

blog

२१ वर्षपछि पुनस्थापना गरिएको इलाका प्रशासनबाट नागरिकता वितरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, साउन ४ गते । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना भएको छ ।

गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि साना साना प्रशासनिक कामका लागि पनि ४५ किलोमिटर टाढा नेपालगन्ज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता पनि अन्त्य भएको हो । 

लुम्बिनी प्रदेश सरकारका उर्जा जल स्रोत तथा सिँचाइ मन्त्री कृष्ण केसीले इलाका प्रशासन कार्यालयको बिहीबार नरैनापुरमा उद्घाटन गरेपछि तत्काल सो कार्यालयले जनताको काम गर्न सुरु गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले उद्घाटनकै अवसरमा स्थानीय केही वासिन्दालाई नागरिकता समेत वितरण गरिएको बताउनुभयो । इलाका प्रशासन पुनःस्थापनाको धेरै प्रयास गरेपनि विगत २१ वर्षदेखि सो कार्यालय नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको अध्यक्ष शाहले बताउनुभयो । 

इलाका प्रशासनको स्थापनासँगै अब स्थानीयवासीलाई सानासाना कामका लागि पनि जिल्ला सदरमुकाम नेपालगन्ज जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, "इलाका प्रशासन स्थापना भएपछि विस्थापित नहुने गरी अगाडि बढ्न गृह प्रशासनसँग आग्रह गरेका छौं, आशा छ अब यो कार्यालय सधैं यहीँ सञ्चालन हुनेछ ।"

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गृह मन्त्रालयसँगको लामो प्रयासपछि दरबन्दी स्वीकृत भएको जनाउँदै त्यसपछि मात्र इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको बताउनुभयो ।

सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालय जस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि नेपालगन्ज सारिएको थियो । 

तर शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा र अरु ठाउँका कार्यालयहरु आ आफ्नो कार्यक्षेत्रमा फर्किसक्दा पनि नरैनापुर क्षेत्रलाई सेवा दिन भनेर स्थापना गरिएको कार्यालय भने नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै राखिएको थियो ।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न केही वर्षअघि नरैनापुरवासीले पाँच हजार हस्ताक्षर तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । इलाका प्रशासन कार्यालय नरैनापुरमा हाल प्रशासकीय अधिकृत माधव सिहको नेतृत्वमा तीन जना नायब सुब्बा र एक जना कम्प्युटर अपरेटर तथा दुई जना कार्यालय सहयोगीलाई पठाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।