काठमाडौँ, साउन ४ गते । वर्षासँगैको विपद्का कारण काठमाडौँमा तरकारीको मूल्य बढेको छ । वर्षा लागेसँगै मुलुकभर बाढीपहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौँमा तरकारीको मूल्य बढ्न थालेको हो ।
बाढी पहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौँ आउन नसक्दा उपत्यकामा तरकारीको मूल्यवृद्धि भएको छ । वर्षातका कारण बाढीपहिरो आउँदा हरेक वर्ष काठमाडौँमा तरकारीको मूल्यवृद्धि हुने गर्छ । तरकारीको मूल्यवृद्धि भएसँगै उपभोक्ताको चुलो पनि महँगो हुन गएको छ । केही दिनदेखि लौका, बोडी, काउली, घिरौँलालगायतको मूल्यवृद्धि भएको छ ।
कालीमाटी तरकारी बजारमा तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले वर्षायाममा तरकारीको मूल्यवृद्धि भएको बताए । उनीहरुले बजारमा गोलभेडा, घिरौँला, काउलीलगायत तरकारीको मूल्य बढेको बताएका छन् । उपभोक्ताहरुले शुक्रबारको बजारमा गोलभेडा बाहेक अन्य तरकारीको मूल्य सय रुपियाँ भन्दा कम नभएको गुनासो गरे ।
मुलुकमा नै उत्पादन भएको गोलभेडाको मूल्य उच्च रुपमा वृद्धि भइरहेको अवस्थामा शुक्रबार भने गोलभेडा सस्तो भएको छ । सानो गोलभेडा कालीमाटी तरकारी बजारमा १६.६७ रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । टनेलमा उत्पादन भएको स्वदेशी सानो गोलभेडा प्रतिकिलो २४.२० रुपियाँमा बिक्री भएको छ ।

त्यस्तै स्वदेशमै उत्पादन भएको ठूलो गोलभेडा भने ११६.६७ रुपियाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी तरकारी बजारका अनुसार शुक्रबार रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रिड १७० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यस्तै, राजमा घिउसिमी १४५, तितेकरेला ८२, लौंका ९०, परवर ७६, चिचिण्डो ६६.६७, घिरौंला ११६, झिगुनी ७६.६७, पाकेको फर्सी ६८.६७, डल्ले फर्सी ८६.६७, भिण्डी ११०, पिडालु ९६.६७, स्कुस ९६, रायो साग १८३.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३०० र राजा च्याउ २९० रुपियाँ प्रतिकिलोमा कारोबार गरेको छ ।
यस्तै न्युरो ११५, ब्रोकाउली ११०, कटहर ४६.६७, भेडे खुर्सानी ११६, अदुवा २३० र स्वदेशी लसुन २१० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                