• ३ साउन २०८१, बिहिबार

बेनी-दरबाङ सडक अवरुद्ध, यात्रुलाई सास्ती

blog

बेनी-दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका र मङ्गलाको सिमाना फापरखेत पहिरो । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), साउन ३ गते । म्याग्दीको मुख्य बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध भएको छ । जिल्लाको बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका-२, को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । 

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक पहिरोका कारण अवरुद्ध बनेपछि यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नुपरेको छ । वैकल्पिक मार्ग नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

फापर खेतमा निरन्तर खसेको पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले बेनी–दरबाङ सडकमा सिधा याता अवरुद्ध बनेपछि म्याग्दीका पश्चिम भेगका नागरिकले सास्ती व्यहोर्न बाध्य भएको यातायात व्यवसायी कमल फगामीले बताउनुभयो । "सडक अवरुद्ध भएको एक हप्ता बितिसक्यो । पहिरो पन्छाउन सम्बन्धीत निकायले पनि बेवास्ता गरेको जस्तो देखिन्छ," गुनासो गर्दै उहाँले भन्नुभयो । बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो सधैँको टाउको दुखाइ बनेको छ । 

फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ । "बर्खामासको समयमा यात्रु सहित हामी व्यवसायीले समेत सास्ती व्यहोर्नुपरेको छ," अर्का यातायात व्यवसायी हरि पुनले भन्नुभयो । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर समेत जोखिममा परेका छन् । 

२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत मुख्य चुनौति बनेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिदा अवरुद्ध सडक खुलाउन नसकिएको उहाँको भनाइ छ ।