• ३ साउन २०८१, बिहिबार

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

blog

नेपालगञ्ज, साउन  ३ गते ।  बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । 

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताउनुभयो । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।  

“घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ”, इन्जिनियर लामिछानेले भन्नुभयो । थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लााभावन्वित हुनेछन् । 

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पु¥याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिनुभयो । 

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युत्को लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा रु एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ । “आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भन्नुभयो । विद्युत् लाइनका लागि हावाहुरीले क्षति पु¥याएकामा नयाँ खम्बासमेत गाडिएको छ । रासस