• ३ साउन २०८१, बिहिबार

कक्षा छोड्दा विद्यालय बन्द

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ३ गते । लामा समुदायको गाउँबस्तीमा सञ्चालन गरिएका अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । माथिल्लो कक्षा चढेपछि विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । नाम्खा गाउँपालिका–६, तिल गाउँका अभिभावक कुन्क्याप तामाङले हिमशिखर प्राथमिक विद्यालय बन्द भएको बताउनुभयो । गाउँका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेकाले विद्यालय बन्द भएको हो ।

यस विद्यालयमा पठनपाठनसमेत नियमित हुन सकेको छैन । लामा समुदायका विद्यार्थीलाई गुम्बाको टोपेमा पठाउने र जिल्लाबाहिर पनि पठाउने भएका कारण यस्तो समस्या देखिएको हो । यसरी विद्यालय बन्द हुनुमा अभिभावक र विद्यार्थीलाई मात्र दोष नभएर राज्यले पनि लिनुपर्ने उहाँले बताउनुभयो । सामुदायिक विद्यालयका शिक्षक तीन महिना पनि विद्यालयमा नबस्ने भएपछि विद्यार्थीमा पढाइप्रति वितृष्णा जागेको बताइन्छ । पाँच वर्षअगाडि पनि विद्यार्थीको अभावमा उक्त विद्यालय बन्द भएको थियो । शिक्षकलाई अन्यत्र व्यवस्था गरिएको थियो । उक्त गाउँका स्थानीय पेम्बा तामाङले अधिकांश गाउँवासी तिल गाउँ छोडेर काठमाडौँ गएपछि विद्यार्थी पनि उतै लागेका कारण विद्यालय बन्द भएको बताउनुभयो ।

नाम्खा गाउँपालिका–६ कै जाङ गाउँको भृकुटी प्रावि पनि बन्द भएको थियो । विद्यार्थी नभएका कारण विद्यालय बन्द भएको हो । विद्यालय भवन, शिक्षक दरबन्दी भए पनि विद्यार्थी नभएका कारण विद्यालय बन्द गरिएको हो । विद्यालय बन्द भएपछि शिक्षकलाई गाउँपालिका फिर्ता गरिएको थियो । हाल विद्यालय भवन खाली अवस्थामा रहेको कुन्जोक तामाङले बताउनुभयो । 

४४ घरधुरी रहेको उक्त गाउँमा हाल सात घरधुरी मात्र रहेका छन् । जम्मा दुई जना विद्यार्थी बाँकी रहेका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले अभिभावकले गाउँ छाडेका कारण विद्यार्थी पनि विद्यालय छोड्न बाध्य हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले लिमीका तीन गाउँमध्ये हल्जीमा रहेको सुनखानी आधारभूत विद्यालय सञ्चालन भइरहेकाले अभिभावकले पनि विद्यालय सञ्चालनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

नाम्खा गाउँपालिका–५ को यारी गाउँको दह बस्तीमा रहेको अरनिको प्राविमा दुई जना मात्र विद्यार्थी अध्ययनरत छन् । गत वर्ष उक्त विद्यालयमा ११ जना विद्यार्थी थिए । शिक्षक भने तीन जना कार्यरत छन् । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढा लामा समुदायले छोराछोरीको पठनपाठनमा ध्यान नदिएको बताउनुभयो । क्षेत्रफलका हिसाबले नेपालकै ठुलो स्थानीय तह भएका कारण पनि बस्तीहरू छरिएर रहेकाले यस्तो समस्या देखिएको हो । अरनिको प्राविका कक्षा ५ को पढाइ छोडेका कासाङ लामा घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर चीनको ताक्लाकोटमा काम गर्न जानु परेको बताउनुहुन्छ । 

त्यस्तै सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँ पनि लामा जातिले बसोबास गर्ने गाउँ हो । २०३३ सालमा उक्त गाउँमा स्थापना भएको हिमगिरी प्रावि पनि गत वर्षबाट बन्द भएको छ । उक्त विद्यालयमा पनि बालविकासमा अध्ययन गर्ने दुई जना भए पनि गाउँपालिकाले नै उक्त विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयमा भएका दुई जना शिक्षक र कार्यालय सहयोगीलाई रलिङ माविमा सरुवा गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले विद्यालय बन्द हुने समस्या लामा सुमदायको बस्तीमा बढी देखिएको बताउनुभयो ।